तिहार लागेसँगै बजारमा बढ्यो चहलपहलः गतवर्षभन्दा घट्यो भाइमसलाको मूल्य

Advertisement

काठमाडौं । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । 

बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ । गतवर्ष प्रतिकिलो १७ सय रुपियाँ  पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपियाँ पर्ने बदाम १२ सयमा बिक्री भइरहेको छ । 

Advertisement

किसमिस, ल्वाङ, मखन लगायतको मूल्य भने स्थिर रहेको छ । चालु आर्थिक वर्षको असोजसम्म १ अर्ब १४ करोडको सामग्री आयात भएको छ । यो वर्ष तिहारमा प्रयोग हुने भाई मसलाको आयात पनि घटेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपियाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपियाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । 

मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यसवर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताइएको छ । 

भाईमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदिबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ । 

Advertisement

Advertisement