चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा आजदेखि सञ्चालन

Advertisement

काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरु गरिएको छ । आज शुक्रवारदेखि निजी क्षेत्रको व्यवस्थापनमा बन्दरगाह सञ्चालन गर्न शुरु गरिएको हो । 

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको थियो । 

Advertisement

सम्झौतामा समिति र कम्पनीबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्युनतम् सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप शुक्रवारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टिआरएस लोजिपार्कले लिएको छ । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपियाँ भन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए । गजुरेलले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताए । 

उनले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानीपनि बढ्ने बताए । उनले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसावले राम्रो परिणा देखाएको बताए । 

गजुरेलले भने, ‘हामीले अघिल्लो वर्ष पनि पोर्ट सञ्चालनबाट १३५ करोड रुपियाँ भन्दा बढी स्तरीय सेवा दिएर आम्दानी गरेका छौँ । हामी सेवाग्राहीलाई न्युनतम शुल्क लिएर सेवा प्रदान गरिराखेका छौँ । हाम्रै स्वीकृत, दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिनुहुन्छ र उहाँहरुले सेवास्तर दिनुहुन्छ । उहाँहरुले कबुल गरेको रकम हामीलाई बुझाउँछौँ । सार्वजनिक, निजी साझेदारीको जुन अवधारणा छ, हामीले हाम्रो पोर्टहरुमा अप्लाइ गरिरहेका छौँ । यसले राम्रो परिणाम देखाएको छ । सेवाको हिसावमा, आम्दानीको हिसावले र व्यवस्थित सञ्चालनको हिसावले । हाम्रो राज्यको अन्य निकायहरुले पनि यो सिक्नका लागि राम्रो केस स्टडी हुन्छ ।’ 

उनले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहेपनि काठमाडौं–तराई द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताए । यद्यपी आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने गजुरेलले बताए । 

सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्कले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रुपमा विकास गर्ने बताएको छ । कम्पनीका प्रतिनिधि अनन्त सिंहले आफुहरुले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताउनु भयो । उहाँले चोभारलाई नमुनाको रुपमा विकास गर्ने उल्लेख गरे ।

Advertisement

Advertisement