इण्डिया गएको मालबाहक रेल नौ महिना भइसक्दा पनि फर्किएन्

Advertisement

काठमाडौं । भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरु निराश भएका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गरेपछि गत जेठ १८ मा एक पटक मात्रै ‘कार्गो’ रेल विराटनगर आएको थियो । त्यसपछि इण्डिया गएको रेल अहिलेसम्म नफर्किएपछि व्याापारीहरु निराश भएका हुन् । 

Advertisement

गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी)मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीमा चल्ने कुरापछि धेरैमा उत्साह छाएको थियो । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगी व्यापारीहरू अहिले निराश छन् । 

त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर मालबहाक रेल जेठ १९ गते इण्डिया फर्किएको थियो । आयातको लागत न्युनीकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अनिश्चित बनेको छ । नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सीमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगी पवन सारडाले बताए । 

सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गो रेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको भन्दै उनले रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेको स्मरण गरे । 

सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ । नजिकको बन्दरगाहबाट सीमित मालवस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुनः सञ्चालनमा आउन नसकेको उद्योगीहरू बताउँछन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गोरेल पुनः सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका मालवस्तु आयातको अनुमति दिनुपर्ने बताए । 

कार्गो रेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ–अनलोडिङको लागत हो । विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ–अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो रहेको उद्योगीको गुनासो छ । अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्र्गबाट आयात गर्दै आएका छन् । त्यसरी गरिएको आयात २०० रुपियाँ प्रतिमेट्रिक टनले सस्तो परिरहेको उनीहरूको तर्क छ । यता बथनाहा–विराटनगर कार्गोरेल पुनः सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालय जनाएको छ । कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए । 

भारतले पछिल्लो समय बिशाखापटनम बन्दरगाहलाई विशेष महत्त्व दिएर कार्गोरेल सञ्चालन गरिरहेको छ । नेपालले पनि विशाखापटनम बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ । तर विशाखापटनमबाट गरिने आयात कोलकत्ताको तुलनामा लागतको दृष्टिकोणले निकै खर्चिलो पर्ने भएकाले उद्योगीहरू त्यसका लागि तयार नदेखिएका हुन् ।

Advertisement

Advertisement