दश खर्बको सामान आयात हुँदा जम्मा एक खर्बको मात्रै निर्यात, व्यापार घाटामा सामान्य कमी

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो आठ महिनामा १० खर्बभन्दा बढीको सामान आयात हुँदा जम्मा एक खर्बको सामान निर्यात भएको छ । 

भन्सार विभागको नयाँ तथ्यांकअनुसार चालु आर्थिक बर्षको फागुनसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपियाँ बराबर वस्तु तथा सेवा आयात भएको छ भने एक खर्ब ६१ करोड रुपियाँको मात्रै निर्यात भएको छ । 

Advertisement

जबकी गत बर्षको सोही अवधिमा एक खर्ब चार अर्ब ७९ रुपियाँको निर्यात भएको थियो । निर्यात गर्दा आयातमा पनि केही कमी आएको छ । गत बर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको थियो । 
 
विभागको तथ्यांकअनुसार निर्यातमा ३.९९ प्रतिशतले कमी आएको छ । साथै आयात २.६६ प्रतिशतले घटेको छ भने समग वैदेशिक व्यापार २.७८ प्रतिशतले घटेको छ । आर्थिक मन्दीले गर्दा आयात र निर्यात व्यापार दुवैमा असर परेको छ र आयात घट्दा राजश्वको लक्ष्यमा समेत ठूलो प्रभाव परेको छ । विदेशी मुद्राको संचिति राम्रो भई सरकारले आयातमा खुकुलो नीति लिए पनि बजारमा माग घट्दै जाँदा र उत्पादन र आयातमा कमी आएको हो । 

फागुनमा भने एक खर्ब ३३ अर्ब रुपियाँको सामान आयात भएको छ जुन अघिल्ला महिनाहरुको भन्दा केही बढी हो । गएको फागुनसम्ममा व्यापार घाटा नौ खर्ब २९ अर्ब ६० करोड छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै दुई खर्ब १४ अर्ब २७ करोड बराबरको आयात भएको छ । पछिल्लो समयमा सिमेन्टको निर्यात उत्साहजनक हुँदा आयातको तुलनामा निर्यात केही सन्तोषजनक देखिएको हो । 

तथ्यांक अनुसार भारतसँग सबैभन्दा धेरै व्यापार रहेको छ । आठ महिनामा भारतबाट मात्रै छ खर्ब ३८ अर्ब रुपियाँको सामान आयात भएको छ भने ६८ अर्ब ५१ करोड रुपियाँको सामान निर्यात भएको छ । चीनतर्फ एक खर्ब ९४ अर्बको वस्तु आयात हुँदा एक अर्ब ९५ करोडको मात्रै सामान निर्यात भएको छ । यस अवधिमा सरकारले भन्सार महशुलवापत दुई खर्ब ७० अर्ब राजश्व संकलन गरेको छ । 

Advertisement

Advertisement