सुख्खा बन्दरगाहमा लुकाएर राखिएका सुपारी, केराउ, पोस्ता दाना बरामद गर्न भन्सार विभाग सफल

Advertisement

काठमाडौं । भन्सार विभागले एकथरी भनेर अर्कैथरी सामान जाँचपास गर्ने गिरोहको पहिचान गरेको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयमा एकथरी भनि अर्कैथरी सामान जाँचपास गर्न लागिएको अवस्थामा सामान बरामद गरिएको विभागको भनाई छ । 

एउटा भनेर अकै वस्तु ल्याएको सूचना पाएपछि खोजी गर्दा सुपारी, केराउ र पोस्ता दाना लुकाएर ल्याएको पाइएको भन्सार विभागले जानकारी दिएको छ । विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका करिव ३८० कन्टेनरहरू खोलेर चेकजाँच गरेको थियो । हालसम्म १८३ कन्टेनरहरूको चेकजाँच सम्पन्न भइसकेको जनाइएको छ । 

Advertisement

चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिवन्ध रहेका र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराऊ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल लगायतका मालवस्तुहरू फेला परेका छन् । 

भन्सार स्रोतका अनुसार विगतमा बढि भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिवन्ध रहेका वस्तुहरुलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनी भन्सारबाट छुटाउने गरेको पाइएको हो । 

विभागले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाई भन्सार कार्यालयबाट जाँचपास हुने हरेक मालवस्तुको निगरानी गर्ने र शंकास्पद देखिएमा विभागबाटै टोली खटाई अनुसन्धान गर्ने गरेको छ । 

विभागले भौतिक परीक्षण गर्न थालेपछि एउटा वस्तुलाई अर्कै भनी घोषणा गर्ने प्रवृत्तिमा नियन्त्रण आएको कारण भन्सारमा आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएका मालवस्तु घोषणा नगरी भन्सारमा कमजोर नेतृत्व भएको बखत भन्सार छुटाउने गरि बेवारिसे बनाई राखेको पाइएको छ ।

यस्ता मालवस्तु ल्याउने पैठारीकर्ताको पहिचान गरी दोषीमाथि हदैसम्मको कारवाही गरिने विभागको भनाई छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले आफू आएपछि गलत क्रियाकलाप नियन्त्रण गर्न कडारुपमा प्रस्तुत भएको दावी गर्दै आएका छन् । उनले ६० दिनभन्दा बढि अवधिदेखि रहेका सबै प्रकारका मालवस्तु जफत गरी लिलाम गर्न र शंकास्पद कन्साइनमेन्टमा कडा निगरानी राख्न सबै भन्सार कार्यालयहरूलाई निर्देशन दिएको बताएका छन् ।

विभागबाट अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमनलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडि पछाडि समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको छ । अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐनअनुसार कारवाही गर्न लगाउने गरिएको पौडेलको भनाई छ । 

यसरी अनुगमन गर्दा गम्भीर राजश्व छली हुनसक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणको लागि टोली पठाउने गरेको छ । त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्ष भरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउने जस्ता नीति अवलम्बन गरिएको जनाइएको छ । 

यसको परिणामस्वरुप २०८० मंसिर महिनामा आयात व्यापार अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले घट्दा पनि राजस्व संकलन १९ प्रतिशतले बढेको महानिर्देशक पौडेलको भनाई छ । 

Advertisement

Advertisement