आर्थिक बर्षको बिचमै लाइटरमा भन्सार महसुल बढाएको भन्दै व्यापारी पुगे अदालत

Advertisement

काठमाडौं । भन्सार विभागले आर्थिक बर्षको बीचमा गैरकानुनीरुपमा लाइटरमा भन्सार महसुल बृद्धि गरेको भन्दै व्यापारीहरु अदालत पुगेका छन् । महशुल वृद्धिको विभागको निर्णय गैरकानुनी भएको भन्दै उनीहरुले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्  । 

रिट निवेदनमा महशुल वृद्धिको निर्णय कार्यान्वयन नगर्न विभागविरुद्ध परमादेशको माग गरिएको छ । एक लाइटर व्यापारी भने, ‘विभागले गैरकानुनी निर्णय गरेको छ । भन्सार महशुल वृद्धि गर्न संसदले मात्रै सक्छ । आर्थिक ऐनमार्फत हुनुपर्ने कुरा विभागले कसरी गर्न मिल्छ ? कयौं कन्टेनर पूरानै मूल्यमा जाँचपास हुने । तर, हाम्रो भने बिचमा नै भन्सार महसुल वृद्धि गर्नु सरासर गलत हो ।’ 

Advertisement

भारतमा सस्तो लाइटरमा आयात प्रतिबन्ध लागेपछि नेपाली व्यापारीहरुले चीनबाट ठूलो परिमाणमा यस्ता लाइटर भित्राएर भारतमा चोरी निकासी गरेको पाइएपछि भन्सार विभागले महशुल बढाइदिएको हो । 

चुरोट सल्काउन प्रयोग गरिने लाइटर दुई प्रकारका हुन्छन् । एउटा पुनः ग्यास भर्न मिल्ने र अर्को नमिल्ने । प्रदुषण बढाएको भन्दै भारतले दुवै किसिमका लाइटरमाथि केही महिनाअघि प्रतिबन्ध लगाएको थियो । 

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको पाँच महिनामा नै १४ करोडभन्दा बढी थान लाइटर नेपाल भित्रिसकेको छ । यी लाइटर विभिन्न ढंगबाट भारतीय बजारमा पुग्छन् । नेपालमा आन्तरिक प्रयोगभन्दा निकै बढी मात्रामा लाइटरको आयात भएपछि भन्सार विभागले बिचमै महसुल बढाइदिएको हो ।

विभागका अनुसार रिफिल (पुनः प्रयोग) गर्न नमिल्ने लाइटरको चार अमेरिकी सेन्ट (पाँच रुपियाँ ३४ पैसा)बाट बढाएर छ सेन्ट (सात रुपियाँ) बनाइएको छ भने रिफिल गर्न मिल्ने लाइटरको भन्सार महशुल पाँच सेन्ट (छ रुपियाँ ६५ पैसा)बाट सात सेन्ट (नौ रुपियाँ ३१ पैसा) पुर्याइएको छ । लाइटर बोकेको एक कन्टेनरले यसअघि १२ लाख भन्सार महशुल तिर्नुपर्नेमा अब १९ लाख तिर्नुपर्ने भएको छ । 

Advertisement

Advertisement