अब सामाजिक सञ्जालमा विज्ञापन गरेर विदेशी मुद्रा बाहिर पठाउन मिल्दैन्ः हुमागाइँ

Advertisement

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले सामाजिक सञ्जालमा विज्ञापन गरेर अब नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताएका छन् । 

बिहीवार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था अब रोक्किएको बताए । 

Advertisement

विज्ञापन गरेको पैसा नेपाल राष्ट्र बैंकले पठाउने अवस्था नदेखिएको उनको तर्क छ । हुमागाइँले विधि, विधान नबनुन्जेल विज्ञापन बोर्डले पनि सिफारिस गर्न नसक्ने बताए । उनले विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीको लागि भनेर आएका निवेदनहरु रोकेर राखिएको बताए । हुमागाइँले सरकारलाई २८ प्रतिशत कर तिरेर बसेकाहरुलाई पनि बोर्डले सिफारिस नगरेको बताए । 

उनले भने, ‘विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीको लागि भनेर आएका निवेदनहरु हामीले अहिले होल्ड गरेका छौँ । कतिपय साथीहरुले ट्याक्स तिरेर बसिरहनु भएको छ । २८ प्रतिशत ट्याक्स लाग्छ यसमा । त्यो ट्याक्स बुझाएर पनि हामीले सिफारिस नगरेको अवस्था विद्यमान छ । अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर यहाँहरुको पैसा विदेश जाने अवस्था करिव–करिव छैन । हुनत राष्ट्रबैंकले गरिदियो भने अलग कुरा हो । तर अहिले हामीले राष्ट्रबैंक सँग कुरा गर्दाखेरी अहिले तत्काल राष्ट्रबैंकले पठाउने अवस्था देख्दैनौँ हामी । त्यसकारण त्यतिधेरै इन्करेज हुने अवस्था चाहिँ अहिलेलाई छैन नेपालमा । विधि, विधान नबनुन्जेल विज्ञापन बोर्ड सिफारिस गर्न सक्षम छैन ।’

हुमागाइँले थपे, ‘विज्ञापन बजारमा जुन खालको अलमल छ, जसको कारणले गर्दा विज्ञापन बजार घटिरहेको छ । टिआरपी नपाउने र टिआरपी प्राप्त नहुँदाखेरी सामाजिक सञ्जालतर्फ आकर्षित हुने एउटा ठूलो समस्याको रुपमा हामीले पाएका छौँ । जस्तोः विज्ञापनदाताले मेरो भिजिबिलिटी कति भयो त्यसैलाई हेर्ने हो । त्यसकै आधारमा म ्रतिको रेस्पोन्स कस्तो आयो भनेर हेर्ने हो जुन कुरो आजसम्म पनि नेपालमा हामीले दिन सकेका छैनौँ । विज्ञापन बोर्ड गठन भएको ३ वर्ष मात्रै भयो । नयाँ नियमावलीले त्यो सम्मको इन्भिजन गरिसकेको छ । नियमावलीको बारेमा एकखालको कन्फ्युजन अथवा असहमती, विमति हुनु अस्वभाविक होइन । एउटा पक्षको असहमति होला । एउटा पक्षको सहमति होला । सबै कुरालाई रिझाएर जान त सकिँदैन । तर एउटै कुरा हामी के कुरामा निश्चित छौँ भने आ–आफ्नो स्थानमा बसेर फेयर प्ले को वातावरण हुन दिनुपर्छ । त्यसमा कसैले अवरोध गर्यो भने त्यो अवरोधलाई पन्छाउने, हटाउने र त्यसलाई ठेगानमा ल्याउने काम नियामक निकाय हो गर्नुपर्छ । गर्छौं । त्यो कुरालाई हामीले अगाडी बढाएका छौँ ।’

अध्यक्ष हुमागाईंले विज्ञापन बजारमा आएको अलमलका कारण विज्ञापन बजार घटिरहेको बताए । विज्ञापनले टिआरपी नपाउँदा सामाजिक सञ्जालतर्फ आकर्षित भइरहेका उनले बताए । 

Advertisement