गैरआवासीय नेपाली संघको विवाद झन बल्झिने संकेत, सरकारले थाल्यो निर्वाचनको छानविन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झन बल्झिने देखिएको छ । संघमा राजनीतिक हस्तक्षेप र चलखेल बढिरहेको र एउटा पक्षलाई संरक्षण गर्दै आएको बेला सरकारले संघको यसअघिको निर्वाचनको छानविन सुरु गरेको छ । 

सरकारले संघको निर्वाचनसम्बन्धि विवाद समाधानका लागि भन्दै बुधबार छानविन समिति गठन गरेको हो । अहिले संघका दुई वटा पक्षले आफूलाई आधिकारिक समिति भएको दावी गर्दै गतिविधि गर्दै आएका छन् । बद्री केसी समूहलाई नेकपा एमालेले संरक्षण गर्दै आएको छ भने आरके शर्मा समूहलाई सत्तापक्षका नेपाली कांग्रेस र माओवादी केन्द्रले संरक्षण गर्दै आएको छ । 

Advertisement

सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनआरएनएको निर्वाचनसम्बन्धी उजुरीमाथि छानविन गर्न सहन्यायाधिवक्ता धु्रवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव एक जना रहने गरी छानविन समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिइन् । 

निर्वाचनमा केसी समूहले अनलाइन मतदान प्रणालीमा सेटिङ मिलाएर आफ्नो पक्षमा नजिता देखाएको भन्दै शर्मा पक्षले परिणामलाई अस्वीकार गर्दै आएको छ । सो समूहले प्रहरीमा समेत यसको छानविन गर्न उजुरी दिएको थियो । त्यसले कुनै निकास दिन सकेको छैन् । 

अहिले सरकारले बनाएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गरिसक्ने कार्यादेश दिइएको छ । यो छानविनले गर्दा संघभित्र झन विवाद बढ्दै गई संगठन कमजोर हुनसक्ने आंकलन गरिएको छ । 

Advertisement

Advertisement