एमाले पक्षका केसी भन्छन्– निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्री नजिकका हुन्

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहका अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष (आरके शर्मा समूह) प्रधानमन्त्री र परराष्ट्रमन्त्री नजिक रहेको आरोप लगाएका छन् । 

शनिवार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा केसीले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी)  साउदको नजिकको रहेको बताएका हुन् । केसी आफू नेकपा एमाले पक्षका हुन् भने शर्मा नेकपा माओवादी केन्द्र पक्षका हुन् । एनआरएनएको गएको निर्वाचनमा शर्मालाई सत्तारुढ नेपाली कांग्रेसको पनि समर्थन थियो । राजनीति दल र नेताहरुको हस्तक्षेपका कारण एनआरएनए यस पटक झन धेरै विभाजित भएको छ । 

Advertisement

आजको कार्यक्रममा केसीले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको जिकिर गरे । उनले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरुले गरेको दाबी पनि गरे । केसीमाथि अनलाइन भोटिङमा सेटिङ मिलाएर आफू र आफ्नो समूहलाई कृतिमरुमपा विजयी बनाउन लागेको आरोप लाग्दै आएको छ । सोही आरोपमा शर्मा समूहले चुनावको नजितालाई अस्वीकार गर्दै आएको छ । 

केसीले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराएपनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताए । उनले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताए । 

केसीले भने, ‘मलाई लाग्छ एनआरएनएको इतिहासमा २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल भनेर, सबैभन्दा बढी सचेतना अपनाएर, सबैभन्दा बढी वैधानिक कागजपत्र उपलब्ध गराएर इलेक्शन गरेको छ । किनभने यो भन्दाअघि हामीलाई यस पाठ सिकएको थियो । इलेक्शन कमिटीले चुनाव हुनुभन्दाअघि तीन जना नै अध्यक्षको उम्मेदवारहरु र हरेक अध्यक्षको उम्मेदवारको दुई दुई जना प्रतिनिधिहरुले सही गरेर चुनाव शुरु गरिएको छ । चुनावको बीचमा आएका प्राविधिक समस्याहरुलाई समाधान गर्नका लागि तीन जना नै अध्यक्षका उम्मेदवारहरुले सही गर्नुभएको छ र सहमति भएको छ । तीन जनै अध्यक्षका उम्मेदवारहरु र प्रतिनिधिहरुले सही गरेर चुनाव समापन गरेका छौँ । चुनाव गरुन्जेलसम्म सहमति हुने र चनुावको रिजल्टपछि असहमति जनाउने हाम्रो इतिहासमै पहिलोपटक हो । त्यस्तो खालको अराजकता कहिले पनि देखेका थिएनौँ । त्यस्तो खालको अलोकतान्त्रिक पद्धति कहिले पनि देखेका छैनौँ ।’

उनले थपे, ‘चुनावको बेलामा साँच्चिकै एकजना उपाध्यक्षको उम्मेदवारमा केही इरर आएको हो । तर तत्काल नै भेरोभोटिङसँग इन्फरमेसन लिएर समाधान गरेका हौँ । अहिले निर्वाचित समिति एउटा मात्रै छ । देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउन सक्छ । गैरआवासीय नेपाली भनेको गैरराजनीतिक अभियान हो । जात र धर्म, भाषा भन्दा माथिको अभियान हो । हामी सरकारलाई सघाउन चाहन्छौँ र सरकारबाट पनि त्यही अपेक्षा गरेका छौँ । जितेर आएको समितिलाई सरकारले सहयोग गरोस् । पराजित साथीहरुले सरकारलाई अन्योलमा पारिदिनुभयो । पराजित साथीहरु सरकारका नजिकका व्यक्तिहरु हुनुहुन्थ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका नजिकका व्यक्तिहरु हुनुहुन्थ्यो र उहाँहरुले भ्रम फैल्याएर गलत कुरा मन्त्रीहरुलाई दिनुभयो । सरकारले आफ्नो ठोस निर्णइ अझैसम्म ल्याएको छैन ।’

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू शुरु भएको केसीको भनाई छ । उनले गत नोभेम्बर महिनाको पहिलो साता ठूलो जनधनको क्षति हुनेगरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिव १ करोड २४ लाख ६८ हजार रुपिैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताए । 

Advertisement

Advertisement