ह्योल्मो समुदायका पहिलो शल्यचिकित्सक भन्छन्– नेपालमा पढ्न र जागिर पाउन गाह्रो छ

Advertisement

काठमाडौं । टासी वाङ्दी लामा ह्योल्मो समुदायबाट अर्थोपेडिक सर्जन (हाडजोर्नीसम्वन्धी विशेषज्ञ चिकित्सक) बन्ने पहिलो हुन् । उनी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् ।

एमबीबीएस कोर्ष चीनबाट गरेका लामाले सन् २०१० पछि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिए । त्यस्तै, २०१० देखि २०१४ सम्म मेडिकल अफिसरको रुपमा धादिङ जिल्लामा काम गरे । त्यसपछि २०१५ देखि २०१८ सम्म लामाले चीनमा एमएस अर्थोपेडिक कोर्ष गरे र २०१९ मा विशेष परीक्षा पनि पास गरे । त्यसै समयदेखि उनी हेल्पिङ ह्यान्ड्समा शल्यचिकित्सकको रुपमा काम गरिरहेका छन् । 

Advertisement

लामाले भने, ‘ह्योल्मोबाट पहिलो डाक्टर चाहिँ डाक्टर लोपसाङ लामा हुनुहुन्छ । उहाँ बाल विशेषज्ञ हो । अहिले उहाँँ नेपाल मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । म चाहिँ पहिलो अर्थोपेडिक सर्जन हो, ह्योल्मोसामुदायबाट ।’ 

पहिला पहिला पढेपछि कि त डाक्टर, पाइलट, इन्जिनियर बनुपर्छ भन्ने खालको माहौल थियो भन्दै उनले त्यो बेला नै आफू कि डाक्टर कि इन्जिनियरमध्ये एउटा पढछु भन्ने मनमा रहेको स्मरण गरे । 

लामाले भने, ’ ‘म डाक्टर बन्छु भनेर नै उच्च माध्यमिक तहमा बायोलोजी (जीव विज्ञान) विषय लिएर पढें । आज लामो समयको संघर्षपछि डाक्टर बन्ने सपना पूरा भयो । डाक्टर पढ्न जति गाह्रो छ, त्यस्तै डाक्टरको पढाइ खर्च पनि महँगो छ । 

उनले आफू आज अर्थोपेडिकको सर्जन बन सफल हुनुमा परिवारको ठूलो सहयोग रहेको बताए । लामाले भने, ‘ह्योल्मोसामुदायबाट अहिले त्यस्तै चार–पाँच जना डाक्टर छन् । त्यो भनेको पनि थोरै नै हो । म आफै नै ह्योल्मोसामुदायबाट दोस्रो डाक्टर हो । ह्योल्मोसामुदायबाट पाइलट छ । डाक्टर, इन्जिनियर पनि छन् ।’ 

आफ्नो सामुदायबाट यस क्षेत्रमा अरु नभएपछि आफू त्यो बाटो एकलै हिडनुपर्ने हुन्छ भन्दै उनले एक्लै हिँड्दा चुनौतीहरु धेरै आउने बताए । डा लामाले आफ्नो सामुदायबाट कोही भइदिएको भए आफूलाई पनि बाटो देखाउन सजिलो हुन्थ्यो भन्ने अनुभव गरेको सुनाए । 

उनले भने, ‘नेपालमा डाक्टर पढने महँगो छ । त्यसैले मैले छात्रवृत्तिको लागि पनि प्रयास गरेको थिएँ । तर नेपालमा छात्रवृत्तिमा नाम निकाल्न पनि गाह्रो थियो । दुई पटक मैले प्रयास गरें । नभएपछि परिवारको सहयोगमा डाक्टर पढेको हो ।’ 
 
नेपालमा पढे पनि जागिर पाउन त्यति सजिलो नभएको उनको अनुभव छ । त्यसका लागि पनि ‘सोर्स–फोर्स’ लगाउनुपर्छ भन्दै लामाले तर आफूमा क्षमता भए ठाउँ चाहिँ पाउने बताए । उनले भने, ‘मलाई पहिला नै थाहा थियो कि डाक्टरको काम पाउन सजिलो थिइन भनेर । दाई, साथीभाईसँग कुराकानी गर्दा सबै कुरा थाहा पाइसकेको थिएँ । त्यसपछि मैले पढाइसँगै कामको खोजी कसरी गर्ने ? भनेर अगाडिदेखि नै सोचेकोले सजिलो भयो ।’

नेपालमा डाक्टर, पाइलट, इन्जिनियर जस्ता प्रविधिक जनशक्तिलाई कसरी टिकाउने ? भन्ने ठूलो चुनौति रहेको बताउँदै ठूलो खर्च र लामो समय लगाएर अध्ययन गर्ने यस्ता जनशक्तिलाई कसरी टिकाउने ? कसरी उनीहरुलाई परिचालन गरेर देश र समाजका लागि प्रयोग गर्ने ? भन्ने कुरामा सरकारको कुनै स्पष्ट दृष्टिकोण र नीति नै नरहेको बताए । 

डा. लामाको भनाई छ, ‘नेपालमा पढाइ सक्किएपछि सबैले खोज्ने भनेको जागिर नै हो । त्यही अनुसारको तलब दिनुपर्यो । जागिर खाइसकेपछि एउटा परिवार पाल्नसक्नेसम्मको तलब त दिनुपर्यो नि । नेपालमा कामअनुसार अर्थात पेशाअनुसार तलब सुविधा नै छैन् । त्यही काम विदेशमा गर्दा राम्रो कमाइ हुन्छ । ठूलो लगानी गरेर पढेकाहरुलाई त कसरी आफ्नो खर्च उडाउने ? भन्ने चिन्ता हुन्छ । आफ्नो देशमा राम्रो अवसर नपाएपछि त बाध्य भएर मानिस बाहिरिनुपर्ने भयो ।’ 

चिकित्सा शिक्षा पढेका विद्यार्थीहरुले सुरुमा स्वयमसेवी भएर काम गर्नुपर्ने, त्यो बेला प्रायः अस्पतालमा तलब सुविधा नहुने, दिए पनि थोरै मात्रै दिने चलन छ । यस्तो हुँदा नेपालमा टिक्न गाह्रो हुने बताउँदै लामाले पढेर सक्नासाथै डाक्टरहरुको जीवनयापन हुने गरी पारिश्रमिक तोकिनुपर्ने बताए । 

उनले भने, ‘डाक्टरहरुलाई राम्रो तलब दिए कोही पनि विदेश जान खोज्दैन् । डाक्टर भनेको एउटा पेशा पनि हो । अर्को सेवा पनि हो । एउटा सम्मान पनि हो । आफ्नै देशमा काम गर्दाको जस्तो सहज र सम्मान अरु देशमा हुन्छ भन्ने त हुँदैन् । आर्थिक कारण विदेशिनुपर्ने बाध्यता धेरैलाई छ ।’ 

चीमा चिकित्सा शिक्षा पढे पनि नेपालमा सजिलै प्रशिक्षण (इन्र्टनसिप) को चरण पार गर्ने अवसर पाएको डा. लामाले सुनाए । एक वर्ष वीर अस्पताललगायतका सरकारी अस्पतालमा इन्र्टनसिप गरेपछि नेपालको प्ररिपेक्षमा कुन कुन रोग ‘कमन’ हुन्छ भन्ने कुराको जानकारी भएको, जसले मेडिकल परीक्षामा सहयोग मिलेको, सोही आधारमा पहिलो प्रयासमै काउन्सिलबाट लाइसेन्स प्राप्त गरेको बताए । 

एमबीबीएस कोर्ष सकेपछि उनले करिव चार वर्ष काम गरे । त्यसपछि लाामामा अर्थोपेडिक सर्जनतिर जानुपर्छ भन्ने सोच आयो । अर्थोपेडिक भनेको व्यवहारिक र सैद्धान्तिकको संयोजन हो भन्दै उनले शल्यक्रिया गर्ने रुचि भएकोले अर्थोपेडिक सर्जनका लागि थप अध्ययन गरेको बताए । 

परामर्शदाता सर्जनसमेत रहेका डा. लामाले स्पाइनल (मेरुदण्ड)को शल्यक्रियासम्वन्धी आधारभूत कोर्ष र अडभान्स कोर्ष गरिसकेका छन् । अब एउटा ‘फेलोसिप’ गर्न बाँकी रहेको उनले बताए । एक–दुई वर्ष काम गरेपछि स्पाइन सर्जरीको एक वर्षको ‘फेलोसिप गर्ने योजना सुनाउँदै लामाले त्यो पूरा भएपछि अर्थोपेडिक सर्जन र स्पाइन सर्जन दुवै बन्ने बताए । 

Advertisement

Advertisement