आर्थिक मन्दीका कारण पेन्ट उद्योगहरु संकटमा, उत्पादनमा आधै कटौती गरेका हौंः कर्ण

Advertisement

काठमाडौं । आर्थिक मन्दीका कारण पेन्ट उद्योगहरुले आफ्नो उत्पादनमा आधाभन्दा धेरै कटौती गर्न बाध्य भएका छन् । मन्दीले गर्दा मागमा भारी गिरावट भएको रिलाइन्स पेन्टका महाप्रवन्धक (जीएम) पंकज कर्णले बताए । 

उनले भने, ‘आर्थिक मन्दीले गर्दा नेपाल पेन्ट उद्योगहरु असहज अवस्थामा छन् । कतिपय उद्योगहरु बन्द भएका कुराहरु समेत सुनिन्छ । हामीलाई सञ्चालन खर्चसमेत धान्न गाह्रो भएको अवस्था छ ।’ खर्च कम गर्न कतिपय उद्योगहरुले कर्मचारी पनि कटौती गर्नुपरेको छ । 

Advertisement

विषम आर्थिक अवस्थाका कारण एक–डेढ बर्षदेखि निर्माण कार्यमा सुस्तता आएको छ । यसले गर्दा विशेषगरी सिमेन्ट, स्टिल, पेन्ट, सीपीभीसी पाइप तथा फिटिङ जस्ता निर्माणसँग सम्वन्धित उद्योगको व्यापारमा असर परेको हो । कर्णले थपे, ‘नेपाली उद्योग एकातिर बहुर्राष्ट्रिय ब्राण्डले पेलेको छ । अर्कोतर्फ हाम्रा उत्पादनहरु बहुर्राष्ट्रिय कम्पनीको भन्दा गुणस्तरीय हुँदाहुँदै पनि उपभोक्ताहरुमा नेपाली भन्दा विदेशी ब्राण्ड राम्रो हुन्छ भन्ने सोचलाई चिर्न गाह्रो भइरहेको छ ।’ 

नेपालमा ६५ वटाभन्दा धेरै पेन्ट उद्योग भए पनि अहिले एशियन, बर्जर र केएनपी गरी तीन वटा बहुर्राष्ट्रिय ब्राण्डको मुख्य प्रभाव रहेको देखिन्छ । आईसीटी डिलक्स जस्ता केही ब्राण्ड आयात हुने गर्छ । आयातित पेन्टहरुको नेपाली बजारमा हिस्सा करिव १५ प्रतिशत रहेको अनुमान छ । रिलाइन्स, जस्मिन, एपोलो, महालक्ष्मी जस्ता नेपाली ब्राण्डले उच्चस्तरीय उत्पादन गर्दागर्दै पनि विदेशी ब्राण्डको आक्रामक बजारीकरणले गर्दा उपभोक्ता कम गुणस्तरका उत्पादनहरु प्रयोग गर्न बाध्य भएका छन् । 

महाप्रवन्धक कर्णले पेन्टमा मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने र विशेषगरी भूकम्प, महामारी, आर्थिक मन्दीमा राज्यबाट स्वदेशी यस्ता उद्योगहरुको संरक्षणका लागि सरकारले भूमिका खेल्नुपर्नेमा कुनै भूमिका नखेलेको बताउँदै जति पनि उद्योगहरु सञ्चालन भएका छन्, उनीहरु चुनौतिको सामना गर्दै सञ्चालन भइरहेको बताए । 

उनले भने, ‘हाम्रा उत्पादनहरु बहुर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका पेन्टहरुभन्दा अझ राम्रो छ । तर धेरै कारणले हामीलाई प्रतिस्पर्धा गर्न कठिनाई भइरहेको छ । इण्डियन टेलिभिजन च्यानलहरुले नै गर्दा उनीहरुको प्रचार धेरै भइरहेको हुन्छ । त्यो ढंगको प्रचारमा ठूलो लगानी गरेर प्रचार गरे पनि हामीले त्यसको ‘रिर्टन’ पाउन गाह्रो छ । सरकारले पनि हामीलाई सहयोग गर्दैन् । त्यसमाथि उधारो कारोबार गर्नुपर्ने बाध्यता छ । समयमा पैसा उठ्दैन् । पैसा लिनुपर्ने कतिपय डिलर र ग्राहक नै सम्पर्कविहीन भइदिन्छ । यस्ता कुराहरुले गर्दा ‘क्यास फ्लो’को समस्या पनि भोग्नुपर्ने बाध्यता छ ।’ 

धेरै चुनौतिका बीच पनि रिलाइन्सले देशभर आफ्नो बिक्री सञ्जालमार्फत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको बताउँदै कर्णले रिलाइन्सका ग्राहकहरुबाट राम्रो प्रतिक्रिया आउने गरेको बताए । 

Advertisement

Advertisement