डेपुटी गभर्नर ढुंगानामाथिको अभद्र व्यवहार नियोजित हो वा रक्सीको नसाको उपज ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उच्च तहका कर्मचारीहरुको तनाब व्यवस्थापनका लागि गत पुस २६ गते नगरकोटमा आयोजना गरेको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा बेलुकी घटेको घटना आकस्मिक नभई नियोजित भएको खुल्न थालेको छ । 

डेपुटी गभर्नर डा. नीलम ढुंगानामाथि भएको दुव्र्यवहारको घटनाको पृष्टभूमिमा डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक देवकुमार ढकाल देखिएसँगै पुस २६ को घटना पेचिलो बन्न पुगेको हो । उक्त घटनापछि गभर्नर महाप्रसाद अधिकारी डेढ हप्ता बिदामा बस्नु पनि अर्थपूर्ण देखिन्छ । 

Advertisement

पुस २६ मा के भएको थियो ? 
राष्ट्र बैंकको पुस २६ गते शुक्रबार साँझ नगरकोटस्थित मेिस्टक माउन्टेन रिसोर्टमा ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी श्रीमतीसहित सहभागी भएका थिए । डेपुटी गभर्नरद्धय ढुंगाना र मिश्र, आठ जना विभागीय प्रमुख र उच्च पदस्थ कर्मचारी कार्यक्रममा सहभागी थिए । 

कार्यक्रम सम्पन्न भएपछि बेलुकी रक्सीसहितको ‘कक्टेल’ पार्टी थियो । एउटा सार्वजनिक संस्थाले आफ्ना कर्मचारीका लागि आयोजना गरेको कार्यक्रममा रक्सी समेत खुवाउने कुरा आफैमा गलत हो । गभर्नर यसमा चुकेका छन् । यद्यपि ‘कक्टेल पार्टी भइरहँदा गनर्भर भने होटलको कोठामा श्रीमतीसँग छुट्टै खानपिन गरेका थिए । अरु कर्मचारी भने पार्टीमै रमाइरहेका थिए । 

रक्सी खाने क्रमसँगै डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकालसँगै बसेर हाँसोठट्टा गर्दै पिइरहेका राष्ट्र बैंकको टक्सार विभागका तत्कालिन प्रमुख थानेश्वर आचार्य एकाएक उठेर डेपुटी गभर्नर ढुंगानाको पछि लाग्छन् । ढुंगाना खानपिन सकेर सुत्नका लागि आफ्नो कोठातिर प्रस्थान गर्दैदिइन् । आचार्यले एक्कासी ढुंगानालाई अंगालो हालेपछि स्थिति तनावपूर्ण बन्छ । भनाभन हुन्छ । विवादकै बीचबाट डेपुटी गभर्नर सुत्न गएपछि बाँकी रहेकाहरुले ‘रक्सीको नासामा’ भएको घटना सामसुम हुने अनुमान गरेका थिए । तर त्यस्तै भएन् । किनभने पुस २६ को घटना ढुंगाना र मिश्र तथा ढकालबीचको लामो समयदेखिको प्रतिद्धन्विता र तितक्ताको रुप थियो । 

अर्को हप्ता कार्यालय गएपछि ढुंगानाले यो घटनाको छानविन हुनुपर्ने अडान राख्दै छानविन नभए प्रहरीसमय जाने र अदालतसम्म पुग्ने चेतावनी दिन्छिन् । छानविन समिति बन्छ । नसामा सुरुमा उक्त घटना भएको भन्दै माफी मागेका आचार्यलाई तत्कालका लागि कुनै कार्यकारी भूमिका नदिनेगरी अतिरिक्त शाखामा सरूवा गरिन्छ । आचार्यलाई स्पष्टीकरण पनि सोधिन्छ । उनले आइतबार आफ्नो स्पष्टीकरण पनि दिइसकेका छन् । 

के हो भित्री अन्तरकथा ? 
पुस २६ को घटनामा थानेश्वर आचार्यले रक्सीको नसामा डेपुटी गभर्नर ढुंगानामाथि अभर्द व्यवहार गरे वा उनलाई त्यस्तो गर्न उक्साउने अरु थिए ? यो नै अहिलेको प्रमुख प्रश्न बनेको छ । राष्ट्र बैंक स्रोतका अनुसार आचार्य रक्सीको नसा लाग्दै गएपछि होस नपाउने र जे पनि गर्न अघि सर्ने व्यक्ति हुन् । 

घटना भएको दिन उनी मिश्र, ढकाललगायतसँग एउटै टेबुलमा बसेर हाँसोठट्टा गर्दै खाँदै थिए । भोजमा राष्ट्र बैंकका अन्य महिना कर्मचारीदेखि होटलका महिला कर्मचारी पनि थिए । तर उनले अरुतिर चासो नदिई किन डेपुटी गभर्नर ढुंगानालाई नै अंगालो मार्न पुगे? यो चासोको विषय बनेको छ । आचार्यले ढुंगानामाथि दुव्र्यवहार गर्दा र विवाद हुँदा मिश्र र ढकालसहितका केही मासन भने भिडियो र फोटो खिच्न लागेको प्रत्यक्षदर्शीको भनाई छ । 

उक्त घटनाको विवरण भालिपल्ट एक अनलाइनकर्मीलाई दिइन्छ । तर पछि फेरि फोन गरेर सो समाचार प्रकाशन गर्न रोकिन्छ । त्यो गर्ने पनि मिश्र पक्षकै मानिसहरु थिए । थानेश्वर आचार्यलाई उचालेर ढुंगानामाथि दुव्र्यवहार गर्न लगाउने र त्यो भिडियो तथा फोटो सार्वजनिक गरेर बदनाम गर्ने नियोजित उद्देश्यले केही मानिसले घटनाको डिजाइन गरेको हुनसक्ने स्रोतको आशंका छ । 

डेपुटी गभर्नर ढुंगाना र अर्का डेपुटी गभर्नर मिश्र तथा कार्यकारी निर्देशक ढकालबीचको चिसोपन राष्ट्र बैंकमा प्रायः सबैलाई जानकारी भएको विषय हो । विभिन्न घटनाक्रमले गर्दा मिश्र र ढकाल ढुंगानासँग कसरी बदला लिने ? भन्ने योजनामा थिए । त्यसका लागि उनीहरु उपयुक्त समयमा पखाईमा थिए । ढुंगानाको चरित्रमा दाग लगाउने मौकाको रुपमा उनीहरुले पुस २६ लाई लिएको होइन् भनेर भन्न नसकिने भन्दै राष्ट्र बैंक स्रोतले पछि यो घटना प्रहरीले नै थप छानविन गर्ने परिस्थिति बन्यो भने तथ्य कुरा बाहिर आउनसक्ने बतायो ।  

आचार्य मिश्र र ढकालसँग मात्रै नभएर गभर्नर अधिकारीका पनि विश्वासपात्र मानिन्छन् । गत बर्ष तत्कालिन अर्थमन्त्री जनादर्शन शर्माले आफूलाई निलम्बन गरेपछि सहजरुपमा निमित्त गभर्नरको भूमिका निर्वाह गरेको भन्दै महाप्रसाद अधिकारी उनीदेखि त्यत्ति खुशी छैनन् । यता पुस २६ को घटनापछि थानेश्वर आचार्यलाई कारवाहीबाट जोगाउन मिश्र र ढकालले निकै प्रयास गरेका थिए । ढुंगानाले अड्डी लिएपछि बाध्य भएर उनलाई सरुवा गर्दै स्पष्टीकरण सोधिएको थियो । 

आफूभन्दा अगाडि ढुंगाना डेपुटी गभर्नर भएपछि देवकुमार ढकाल पनि असन्तुष्ट रहँदै आएका थिए । यता आफूले हेर्दै आएको राष्ट्र बैंकको महत्वपूर्ण विभाग वाणिज्य बैंक तथा वित्तीय संस्था र लघुवित्त सुपरिवेक्षण विभागाको प्रमुख पनि ढुंगाना भएपछि मिश्र रुष्ट थिए । गत मंसिरदेखि ढुंगाना उक्त विभागको पनि प्रमुख भएकी हुन् । दुई डेपुटी गभर्नरमध्ये नीलम ढुंगाना वरिष्ठ पनि हुन् । 

आफूलाई भेट्न आउने महत्वपूर्ण मानिसहरु ढुंगानालाई भेट्न जान थालेपछि मिश्र निराश हुँदै आएका थिए । देवकुमार ढकाललाई पनि आफ्ना कामकारवाहीको रिपोटिङ ढुंगानालाई गर्नुपर्दा पीडा हुँदै आएको थियो । गभर्नरले राजीनामा दिँदा वा कार्यकाल सक्किएपछि नीलम ढुंगानाले स्वतः निमित्त गभर्नरको जिम्मेवारी पाउने अवस्था बन्छ । त्यसलाई रोक्न पनि राष्ट्र बैंकभित्र चलखेल भइरहेको छ । 

यस्तै लामो समयदेखिको ‘इगो’, अविश्वास र तिक्तता राष्ट्र बैंक उच्च नेतृत्वमा बढ्दै जाँदा संस्थाको प्रतिष्ठामा नै आँच आउनेसम्मका क्रियाकलाप हुन थालेका छन् । थानेश्वर आचार्यले रक्सीको नसामा पटक पटक यस्ता क्रियाकलाप गर्दा पनि उनलाई महत्वपूर्ण जिम्मेवारी दिने र महत्वपूर्ण कार्यक्रममा सामेल गराउने, उनलाई हतियार बनाएर अरुले फाइदा उठाउने हो भने राष्ट्र बैंक जस्तो संस्थालाई हेर्ने बैंकिङ क्षेत्र र आम जनताको दृष्टि के होला ? राष्ट्र बैंकका ती कर्मचारीको प्रश्न छ । 

नगरकोट घटनालाई लिएर राष्ट्र बैंकका कर्मचारी युनियनहरु पनि नीलम ढुंगानाकै पक्षमा उभिएका छन् र आचार्यको आलोचना गरेका छन् । राष्ट्र बैंकको कर्मचारी विनियमावली अनुसार कुनै पनि कर्मचारीले महिला माथि दुर्व्यवहार गरेमा कारवाही हुन्छ । पटक पटक यस्ता हर्कत गर्नेलाई सेवाबाट समेत हटाउन सकिने प्रावधान छ । यो कुरा भने छानविन प्रतिवेदन आइसकेपछि टुंगो लाग्ने जनाइएको छ । 

Advertisement

Advertisement