काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ मा आजसम्म (फागुन ४) मात्रै आवेदन दिन सकिने भएको छ । बैंकले फागुन १ गतेदेखि यो योजना निष्कनसन तथा बिक्री खुला गरेको छ । १० वर्ष अवधिको रहेको एनआईएमबी डिबेन्चरको वार्षिक ब्याजदर पनि १० प्रतिशत नै छ ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपियाँबराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४२ करोड ४० लाख रुपियाँबराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । साथै, बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपियाँबराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।