विराटनगर जुट मिल्समा गए राति भएको सुनियोजित आगजनीको अनुसन्धान हुँदै

Advertisement

काठमाडौं । विराटनगर जुट मिल्समा मंगलवार राति सुनियोजित ढंगले आगजनी गरिएको छ । आगजनीबाट २० लाख रुपियाँ बराबरको क्षति भएको छ । 

जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् । आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन् । 

Advertisement

जुट मिल्समा लागेको आगो नियोजितरूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन् । विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ । मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाकाअनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी शुरु भएको बताए । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरु समेत निरीक्षण गरेर गएको बताए । सुब्बाले सरकारले आगामी वैशाखबाट मिल्स पुनःसंरचना गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वहरुले आगलागी गराएको आशंका गरे । 

घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताउँदै उनले केही समयभित्रमै जुट मिल्स सञ्चालन गर्नेकुरा भएको बताए । विराटनगर महानगरपालिका वडा नम्बर नं.१६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिल्सको चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको हुनसक्ने तर्क गरे । 

उनले लागुऔषध सेवनकर्ता तथा चोरीचकारीमा संलग्नहरूले आगजनी गरेको हुनसक्ने आशंका रहेको बताए । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेट आगलागि भएको खबर आएसँगै तत्काल प्रहरी टोली गएर आगो नियन्त्रणमा लागेको बताए । 

उनले आगलागीबाट तीन वटा पूराना मेसिनहरु नष्ट भएको पाइएको बताए । दाहालले जुट बनाउन राखिएका कच्चा पदार्थ समेत जलेर नष्ट भएको बताए । उनले जुट मिल्समा आगलागीको कारण खुलिनसकेको बताउँदै आगो लागि कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान गर्ने काम गरिरहेको बताए । 

दाहालले लामो समयदेखि बन्द रहेको उद्योगमा विद्युत आपूर्तिसमेत लामो समयदेखि ठप्प भएका कारण सट–सर्किट भएर आगलागी हुनसक्ने सम्भावना नदेखिएको बताए । प्रहरीकाअनुसार बन्द अवस्थामा रहेको जुटमा अचानक आगलागी हुनुले घटना शंकास्पद देखिएकाले त्यसको आधारमा पनि प्रहरीले अनुसन्धान गर्ने बताएको छ ।

Advertisement

Advertisement