दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

Advertisement

झापा । कोशी प्रदेशको डेरी उद्योग संघले सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ ।

संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।

Advertisement

‘संघले सात बुँदे निर्णय गरेको छ,’ संघका संयोजक रामचन्द्र उप्रेतीले भने, ‘आयात खुला रहँदा स्वदेशी उत्पादन नबिक्ने समस्या भइरहेको थियो । नेपाल सरकारले हालै आयात रोक्न गरेको निर्णयले हामी खुसी भएका छौँ ।’

संघले किसानबाट खरिद गर्दै आएको दूधको भुक्तानी नियमित गर्ने निर्णय गरेको उनले जानकारी दिए । कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट संकलन गरेको दूधको भुक्तानीमा ठूलो समस्या नरहेको समेत उनले बताए ।

कोशी प्रदेशमा रहेका डेरी उद्योगमा नौनी घ्यू, एसएमपी र छुर्पीको स्टक आवश्यकभन्दा ज्यादा भएको जनाउँदै बैठकले आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।

बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेरी संघ, कामधेनु दुग्ध सहकारी, रितिका डेरी उद्योग, शिवम् डेरी इन्डस्ट्रिज, गोरस डेरी प्रालि, जीवन विकास डेरी र मदानी मिल्क हाउसका सञ्चालकको सहभागिता रहेको थियो ।

मौज्दातमा पाँच लाख केजी नौनी बिक्री नभएका कारण कोशी प्रदेशका डेरी उद्योगमा पाँच लाख केजी नौनी घ्यू मौज्दातमा रहेको व्यवसायी बताउँछन् । विगत ६ महिनाअघिदेखि बिक्री न्यून भएकाले नौनी घ्यू थुप्रिँदै गएको हो । उद्योगीका अनुसार दूधको उत्पादन बढेको बढ्यै छ, तर दूध र दूधबाट बनेका विभिन्न उत्पादनको बिक्री हुन सकेको छैन ।

बिक्री नभएका नौनी घ्यू चिस्यानगृहमा भण्डारण गर्न असम्भव भइसकेको छ । निजी क्षेत्रले तरकारी भण्डारणका लागि प्रयोगमा ल्याइरहेको विर्तामोडको रोयल कोल्डस्टोरलगायत झापा र मोरङका पाँच ठूला कोल्डस्टोरमा नौनीघिउ राखिएको नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताए ।

सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भित्रिएको दूध र दुग्धजन्य पदार्थले स्वदेशी उत्पादन बिक्री नभएको चिमरिया बताउँछन् । भारतमा भन्दा नेपालमा दूधको मूल्य बढी भएकाले भारतबाट लुकीछिपी दूध र पनिर भित्रिने गरेको हो ।

सरकारले दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाएपछि अब भारतबाट दूध, पनिर र पाउडर दूधको आयात बन्द हुने व्यवसायीको अपेक्षा छ । खपतभन्दा संकलन भएको दूध धेरै भएपछि कोशीका डेरी उद्योगका दूधसमेत बिक्रीमा समस्या आउन थलिसकेको छ ।

दूध बिक्न छाडेपछि कोशी प्रदेशमा अधिकांश डेरीले ‘मिल्क होलिडे’ गरिरहेका छन् ।

Advertisement