अर्थमन्त्रीलाई बधाई दिन पुगे बैंकरहरु, ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छः अर्थमन्त्री

Advertisement

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई बधाई दिन बैंकरहरु अर्थ मन्त्रालय पुगेका छन् । नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष सुनील केसीको नेतृत्वमा बैंकका सीईओहरुले बिहीबार पुनलाई भेटेका हुन् । 

भेटका क्रममा मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिने अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताए । उनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भडकाउँदै हिंड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी दिए ।

पुनले भने, ‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन । त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने उनले बताए । 

मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले बताए । उनले भने, ‘सरकारले लगानीको वातावरण बनाउँछ । सुरक्षाको प्रत्याभूति दिलाउँछ । निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ ।’ 

मन्त्री पुनले सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने बताए । उनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । 

फरक प्रसंगमा पुनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्वनिर्धारित लगानी सम्मेलन प्रभावित नहुने बताउ । भेटमा बैंकका सीईओहरुले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन आग्रह गर्दै  ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेको बताएका थिए । 

Advertisement

Advertisement