ठूला दललाई राउतको व्याङ्ग्य– समाजवाद भनेको जनतालाई पैसा बाँड्नु हो भन्ने भाष्य बनाइयो

Advertisement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताए । 

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर अगाडी बढ्न नसकिने बताए । राउतले नेपालमा समाजवाद भनेको जनतालाई पैसा बाँड्नु हो भन्ने भाष्य रहेको र सबै दलहरुले त्यसैमा प्रतिष्पर्धा गर्न लागिरहेका बताए । 

Advertisement

ऋण लिएर पैसा बाँड्दैमा देशको समृद्धि नहुने उनले बताए । राउतले देशको समृद्धिका लागि निजी क्षेत्रको लगानीलाई निषेध गर्नु नहुने बताए । राउतले नेताहरुले देशलाई सिंगापुर, जापान, दुबई र कतार बनाउने भाषण गर्ने गरेका भन्दै ती देशहरु समाजवादी मुलुकमा विकास नभएको बताए । 

सोभियत संघ र चीनमा पनि उदारवाद अंगालेपछि मात्रै विकास भएको उल्लेख गर्दै उनले नेपालमा भने शास्त्रीय माक्र्सवाद पढाएर जनतालाई भुलभुलैयामा राखिएको बताए । 

राउतले भने, ‘ऋण लिएर पैसा बाँड्दैमा यो देशको समृद्धि हुँदैन । त्यो हामीले देखिराखेका छौँ । दुई खर्बबाट २४ खर्ब ऋण पुगेको हामीले देखिराखेका छौँ । त्यसैले यो आयाममा हामीले छलफल चलाउनै पर्ने हुन्छ कि हाम्रो मुलुकले अहिले नै समाजवाद धान्नसक्छ कि सक्दैन ? सक्दैन भने हामी निजी क्षेत्रलाई यसरी किन निषेध गरिराखेका छौँ ? किन लगानीलाई निषेध गरिराखेका छौँ ? किन निजी क्षेत्रमाथि आक्रमण गर्दैछौँ ? त्यस्तो खालको नीति, नियमहरु किन ल्याइराखेका छौँ ? त्यो हामीले जवाफ दिनुपर्ने हुन्छ ? हाम्रो शीर्ष नेताहरुले जहिल्यैपनि भाषण दिनुभयो जनताको बीचमा गएर, हामी नेपाललाई सिंगापुर बनाइदिन्छौँ । जापान बनाइदिन्छौँ । दुबई, कत्तार बनाइदिन्छौँ ।’ 

उनले थपे, ‘उहाँहरुले हेक्का राख्न सक्नुभएन, सिंगापुर भनेको समाजवादी मोडेलमा विकास भएको होइन । जापानपनि समाजवादी मोडेलमा विकास भएको होइन । दुबई, कत्तार पनि समाजवादी मोडेलमा विकास भएको होइन । उहाँहरुले जहाँबाट राजनीतिक प्रेरणा लिनुहुन्छ, शोभियत संघ र चीन त्यो पनि समाजवादी मोडेलमा रहँदासम्म त्यहाँको अर्थतन्त्र विकास भएको होइन । उनीहरुले पनि उदारवाद अंगालेपछि बल्ल विकास भएको हो । तर हामीले चाहीँ पुरानो शास्त्रिय माक्र्सवाद पढाएर भुलभुलैयामा राख्न खोजिन्छ । त्यही भएर उदाहरण तपाईहरु आफ्नै प्रेरणाको स्रोतबाट लिनुहुन्छ भने त्यहाँ नीजि क्षेत्रलाई, उदारवादलाई निषेध गरेर हामी अगाडी बढ्न सक्दैनौँ । त्यो कुरामा हेक्का राख्नुपर्छ ।’

राउतले नेपालमा समाजवादी मोडेलमा उत्प्रेरणा नभएका कारण असफल भइरहेको बताए । उनले सरकारी स्वामित्वका सबै संस्थानहरु घाटामा जाने गरेको र निजीको सबै नाफामा जाने गरेको अवस्था रहेको भन्दै यसले पनि समाजवादी मोडेलमाथि प्रश्न उठाएको बताए । 

Advertisement

Advertisement