आठ महिनामा दुई खर्ब १८ अर्ब रुपियाँ ऋण थपियो

Advertisement

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा (फागुनसम्म) दुई खर्ब १८ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । 

आर्थिक गतिविधि सुस्ताउँदा आन्तरिक स्रोत सङ्कुचित भएपछि सरकारले पछिल्ला वर्षमा सार्वजनिक ऋण बढाउन थालेको छ । सोहीअनुसार फागुनसम्म मात्रै दुई खर्ब १८ अर्ब ८६ करोड रुपियाँ ऋण प्राप्त गरिसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ । 

Advertisement

फागुनसम्म थपिएको कुल ऋणमध्ये एक खर्ब ६३ अर्ब ३१ करोड रुपियाँ आन्तरिक ऋण रहेको छ । त्यसपछि बाँकी २३ अर्ब ६ करोड रुपियाँ बाह्य ऋण उठाइएको छ । 

फागुनमा मात्रै सरकारले १४ अर्ब ८६ करोड रुपियाँ ऋण लिएको कार्यालयले जनाएको छ । 

समीक्षा अवधिसम्म भुक्तानी कटाएर सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपियाँ नाघेको छ । गत आवको अन्त्यसम्म नेपालको कुल सार्वजनिक ऋणको आकार २२ खर्ब ९५ अर्ब ४३ करोड रुपियाँ थियो । कुल सार्वजनिक ऋणमध्ये ११ खर्ब ८५ अर्ब ५२ करोड रुपियाँ आन्तरिक ऋण दायित्व छ । त्यस्तै १२ खर्ब दुई अर्ब ७३ करोड रुपियाँ बाह्य ऋण तिर्नुपर्ने दायित्व छ । 

कार्यालयका अनुसार यसबिचमा सरकारले अघिल्लो सार्वजनिक ऋणबापतको एक खर्ब २३ अर्ब रुपियाँ साँवा भुक्तानी गरेको छ । जसमध्ये एक खर्ब दुई अर्ब ९७ करोड रुपियाँ आन्तरिक ऋण दायित्वको साँवा भुक्तानी हो भने बाँकी २३ अर्ब ६ करोड रुपियाँ बाह्य ऋणबापतको दायित्व भुक्तानी गरिएको छ । 

यसबाहेक समीक्षा अवधिसम्म सरकारले ४९ अर्ब ४७ करोड रुपियाँ ऋणबापतको ब्याज भुक्तानी गरेको छ । कुल ब्याज भुक्तानीमध्ये ४३ अर्ब ६७ करोड रुपियाँ आन्तरिक ऋणबापतको रहेको छ भने पाँच अर्ब ८० करोड रुपियाँ बाह्य ऋणबापतको ब्याज भुक्तानी भएको कार्यालयले जनाएको छ । 

सार्वजनिक ऋणको भार बढ्न थालेपछि सरकारले त्यसको भुक्तानीका लागि बजेटमार्फत वित्तीय व्यवस्था शीर्षकको खर्च बढाउन थालेको छ । चालु आर्थिक वर्षमा मात्रै यस्तो शीर्षकको खर्च लक्ष्य पुँजीगत खर्चभन्दा बढी छ । बजेटमा तोकिएका कार्यक्रम तथा लक्ष्य पूरा गर्न सरकारले आन्तरिक स्रोतबाहेक आन्तरिक र बाह्य गरेर चार खर्ब ५३ अर्ब रुपियाँ ऋण लिने लक्ष्य राखेको छ । 

Advertisement