आगामी आवको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटी अन्त्य हुन्छः अर्थसचिव पुष्कर

Advertisement

काठमाडौं । अर्थसचिव डा. कृष्णहरि पुष्करले आगामी आर्थिक वर्षको बजेटमा पहुँचको आधारमा बजेट छुट्याउने परिपाटिको अन्त्य हुने बताएका छन् ।  

आईतवार सिंहदरबारमा बसेको संघीयता प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले यसवर्ष बजेट निर्माण प्रक्रिया विगतको तुलनामा पूरा परिवर्तन भएको बताए । उनले शक्ति र पहुँचको आधारमा बजेट विनियोजन हुने काम यस वर्षबाट पूर्ण रुपमा बन्द हुने प्रतिवद्धता जनाए । 

Advertisement

उनले आगामी आर्थिक वर्षका लागि जुनसुकै योजना, परियोजनामा बजेट छुट्याउँदा सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने प्राविधिक कुराहरु पूरा गरेको हुनुपर्ने र प्रोजेक्ट बैंक तथा योजना आयोगमामा रहेको एमटिइएफ सिस्टममार्फत भएर आएका योजनाहरु मात्रै समावेश गरिने बताए । उनले अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भित्र योजना बनाउन आग्रह गरेको बताए । 

उनले आगामी आर्थिक वर्षको बजेट देखिएका आर्थिक शिथिलताको अन्त्य गर्ने, वित्तीय संस्थानहरुको विसंगतिहरुलाई पनि मुक्त बनाउने, संघीयता कार्यान्वयन र सार्वजनिक संरचनालाई सबलीकरण गर्ने, संघीयताप्रतिको जनताको आश र भरोसा जगाउने गरी निर्माण हुने बताए । बजेटमा महिला सहभागिताको विषय र दुर्गम क्षेत्रका कुराहरुमा बढी केन्द्रित हुनेगरी बनाइने बताए । 

कर्णालीको विकासका लागि मानव सूचकांकमा पछि परेका क्षेत्रहरुको लागि विशेष खालका प्याकेजहरु दिने, रुपान्तरणकारी योजनाहरु अघि बढाउने, ससाना योजनाहरुलाई खारेज गर्ने, सम्पन्न हुन लागेको आयोजनालाई पूरा गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरुमा चाहिने जतिको सबै साधन श्रोत सुनिश्चित गर्नेगरी अर्थ मन्त्रालयले काम गरिरहेको जिकीर गरे । 

सचिव पुष्करले समन्यायिक र समपूरुक रकम बढाउने र सशर्त अनुदान घटाउँदै लैजाने कुरामा सरकार अघि बढिरहेको बताए । 

Advertisement