नेपालमा पढ्न आउने विद्यार्थीबाट ३ अर्ब ४० करोड आम्दानी, गत आवभन्दा ६८.२७ प्रतिशतले बढी
नेपाल राष्ट्र बैंक भवन

Advertisement

काठमाडौं । नेपालमा पढ्न आउने विदेशी विद्यार्थी अर्थात् शिक्षा मार्फत नेपाल भित्रिने रकम उच्च दरमा बढ्न थालेको छ । चालु आर्थिक बर्ष २०८०/८१ को माघ मसान्तसम्म यस्तो आम्दानी ६८.२७ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले यस्तो देखाएको हो । अघिल्ला बर्षहरुमा यस्तो आम्दानी सामान्य रुपमा बढ्ने गरेको थियो । चालु आवमा भने उच्च दरमा यस्तो आम्दानी बढी रहेको हो । 

Advertisement

चालु आवको सात महिनामा शिक्षा मार्फत ३ अर्ब ४० करोड ५० लाख रुपियाँ नेपाल भित्रिएको छ । गत आव २०७९–८० को सोही अवधीमा २ अर्ब २ करोड ३५ लाख रुपियाँ नेपाल भित्रिएको थियो । गत आवमा भने ४ अर्ब ६ करोड ४७ लाख रुपियाँ रकम नेपाल भित्रिएको थियो ।

मेडिकल, इतिहास, भाषा, कानुन लगायतका बिषयको अध्ययन गर्न विदेशी विद्यार्थी नेपाल आउने गर्छन् । त्यसक्रममा उनीहरुले यहाँको शैक्षिक संस्थालाई तिर्नुपर्ने शुल्क, बसोबास खर्च लगायतका शीर्षकमा आफ्नो देशबाट पैसा ल्याउँछन् । 

नेपालको शैक्षिक प्रणालीलाई गुणस्तरीय बनाएर विदेशी विद्यार्थी आकर्षण गर्न सकेमा विदेशी मुद्रा आम्दानी पनि बढ्दै जाने विज्ञहरु दावी गर्छन् । तर, शिक्षा मार्फत भित्रिने भन्दा बाहिरिने पैसा नै बढी छ । 

चालु आवको माघ मसान्तसम्म शिक्षा मार्फत ६६ अर्ब ६४ करोड १२ लाख रुपियाँ बाहिरीएको छ, जुन गत आवको सोही भन्दा ५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा शिक्षा मार्फत ४३ अर्ब ७४ करोड ३८ लाख रुपियाँ बाहिरिएको थियो । गत आवभरमा भने शिक्षा मार्फत १ खर्ब ४३ करोड ३३ लाख रुपियाँ बाहिरिको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो समय नेपालीहरु विद्यार्थीहरु विदेशमा पढ्न जाने प्रवृति बढ्दो छ । जापान, अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका देशमा अध्ययनका लागि उच्च संख्यामा नेपाली विद्यार्थी गइरहेका छन् । त्यसक्रममा उनीहरुले शैक्षिक संस्थालाई बुझाउने शुल्क र आवास खर्च नेपालबाटै लैजानु पर्ने हुन्छ ।
 

Advertisement