‘कर्पोरेट अभ्यास’ गर्न नपाई खेर गएका तीन दशक

Advertisement

–हरिभक्त शर्मा
पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ

हरेक व्यावसायिक संस्थाभित्र पनि विधि हुन्छ । सुशासन कायम गर्ने र विधिसम्मत चल्ने कुरा ‘कर्पोरेट कल्चर’ हो । विधिले चल्यो भने त्यो संस्था टिकाउ र दिगो हुन्छ । विधिसम्मत चल्ने संस्थाले देशका नियम–कानुन पनि मानेर चल्छ । राम्रा र ठूला कर्पोरेटहरूले व्यक्तिको क्षमतालाई सदुपयोग गर्दै र उनीहरूका लागि अवसर सिर्जना गर्छन् । उनीहरूको नेतृत्व क्षमताको विकास गरेमा त्यो संस्थाको हितमा लगाउने ताकत राख्छन् । नेपालमा त्यो खालको स्थिति बनिसकेको छैन । यदि त्यसो गर्न सक्ने हो भने दीर्घकालका लागि राम्रो हुन्छ । विधिले चल्यो र कर्पोरेट कल्चरको विकास गर्न सकियो भने जुनसुकै इन्टरप्राइज पनि सयौं वर्षसम्म चल्न सक्छ ।  

Advertisement

नेपालमा अहिले धेरै कम्पनी आएका छन् । धेरै व्यावसायिक प्रतिष्ठान जन्मिएका छन् । तर, थोरैले मात्रै असल कर्पोरेट कल्चर अभ्यास गरेका छन् । किनभने हाम्रोमा धेरैजसो पारिवारिक व्यवसाय हुन्छन्  । केही बैंक, व्यावसायिक प्रतिष्ठान र बीमा कम्पनीले यसको प्रयास गरेको देखिन्छ । यद्यपि, त्यहाँभित्र पनि सीमित मानिसको मात्रै कर्पोरेट अभ्यासका लागि योग्यता र क्षमता देखिन्छ । कर्पोरेटाइज गर्ने अर्थात् कर्पोरेट कल्चरको विकास गर्ने कुरा सहज कुरा होइन । त्यही अनुसारको दक्ष जनशक्ति चाहिन्छ, व्यवस्थापकीय क्षमता चाहिन्छ । धेरै जनाबाट छनोट भएका योग्यता र क्षमतावान् मानिसलाई मौका दिएर संस्थाको जिम्मेवारी दिनु कर्पोटाइजेसनको एउटा अर्को पक्ष हो । योग्य र क्षमतावान्लाई छानेर व्यावसायिक प्रतिष्ठान चलाउन दिँदा व्यावसायिक संस्था राम्रो चल्छ भन्ने मान्यता हो । 

कर्पोरेटाइजेसन गर्न कर्पोरेट एक्लैले चाहेर नहुने रहेछ । नेपालका कानुन नै बाधक छन् । नेपालका कानुन ‘रिग्रेसिभ’ प्रकारका छन् । त्यसको व्याख्या पनि अदालतमा ‘ब्ल्याक एन्ड ह्वाइट’ मा मात्रै हुन्छ । ‘स्प्रिट’ मा हुँदैन । मैले धेरै लामो समयदेखि हेर्दा नागरिकको सोच र आवश्यकताअनुसार अदालतको फैसला भएको देखिँदैन । नागरिको सोच र सिर्जनालाई सम्मान तथा प्रवद्र्धन गर्ने सकेको छैन । त्यसले गर्दा असल कर्पोरेट कल्चर विकास गर्न कठिनाइ भएको छ । 

अर्को कुरा हाम्रो नीति निर्माणदेखि त्यसको कार्यान्वयन गर्नेमा पनि नेपालका कर्पोरेट कल्चरको विकास गर्नुपर्छ भन्ने मान्यता आवश्यक छ । तर, नीति–निर्माणमा नेपालका व्यावसायिक प्रतिष्ठानलाई प्रतिस्पर्धी बनाउनुपर्छ भन्ने खालको सोच नै छैन । बरु कसरी हुन्छ दुःख दिने, गलत ढंगले चल्न प्रेरित गर्ने खालको प्रवृत्ति छ । यसको कारण, नाजायज फाइदा लिन पाइने भएर पनि होला । जब एउटा व्यावसायिक संस्थाले कर्पोरेट कल्चरको अभ्यास गर्न सक्दैन, उसलाई आफ्नो उत्पादनको ‘ब्रान्डिङ’ गर्न, आफ्नो वस्तु तथा सेवाको गुणस्तर कायम गर्न, त्यस्ता उत्पादनप्रति उपभोक्ताको विश्वास अभिवृद्धि गर्न, बजार सिर्जना गर्न पनि कठिनाइ पर्छ भने प्रतिस्पर्धा गर्न पनि चुनौती हुन्छ । 

नेपालको कर्पोरेट क्षेत्र एक हिसाबले भन्दा सिकारु चरणमा नै छ । औद्योगिक व्यवसायको इतिहास त्यति लामो छैन, जति विश्वको छ । लामो अभ्यासपछि अरू देशमा कर्पोरेटहरू विकास भएको देखिन्छ । नेपालको हकमा दुर्भाग्य नै मान्नुपर्छ । विसं २०४७ पछिको तीन दशक कर्पोरेटाइजेसनका लागि कुनै ठोस काम नै भएन । २०४७ को राजनीतिक परिवर्तनपछि उद्योग–व्यवसायमा लगानी बढेर यसले अर्थतन्त्रमा प्रभाव पार्न के थालेको थियो, माओवादीले सुरु गरेको हिंसात्मक जनयुद्धले त्यो प्रभाव घट्यो । तीन–चार वर्ष पनि टिक्न पाएन । वास्तवमा आजको औद्योगिक जग त्यही तीन–चार वर्षमा बसेको हो । त्यो छोटो समयमा जति कर्पोरेट बने, ती  आज पनि जेनतेन टिकेका छन् । त्यसपछि आएका उद्योग–व्यवसायले खासै सफलता पाउन सकेको देखिँदैन । 

अहिले आएका अधिकांश व्यवसाय आयात र वितरण गर्नेहरू हुन् । यस्ता उद्योगले ठूलो संख्यामा रोजगारी पनि सिर्जना गर्न सक्दैनन् । प्रविधि त झन् ल्याउनै सक्दैनन् । किनभने प्रविधि भित्राउन, नवीनता र व्यक्तिको क्षमता बढाउन उद्योग नै चाहिन्छ । गएको ३० वर्षमा व्यवसायीहरूको आत्मबल निकै कमजोर भएर गएको छ । यो अवधिमा हाम्रो मौलिक चरित्र हराएर गएको छ । हामी उत्पादन गर्न नसक्ने हुँदै गएका छौं । युवालाई निर्यात गरेर विकास भएको देश विश्वमा कुनै पनि छैन । तर, हामीले त्यही गलत नीति अपनाएका छौं । यसरी युवा निर्यात गरी उनीहरूले पठाएको रेमिटान्सले नै देश चलिरहेको छ । 

हाम्रो समाज पनि उद्योगमैत्री हुन सकेको छैन । समाजले उद्योग र उद्योगीलाई हेर्ने नकारात्मक दृष्टि कायम हुँदासम्म कर्पोरेट कल्चर विकास कठिन हुनु स्वाभाविक हो । यहाँको राजनीति, प्रशासन, समाज सकारात्मक नहुँदासम्म कर्पोरेट कल्चर प्राक्टिस गर्न पनि गाह्रो छ । प्रतिकूल अवस्थामा जतिसुकै इमानदार भएर उद्योग खोले पनि बजारमा ‘यो बदमास नै हुनुपर्छ’ भनेर हेरिन्छ । इमानदार भएर कमाए पनि यो ‘नाफाखोर’ भनेर हेरिन्छ । असल काम गरेर कमाउनेलाई विश्वास नगर्ने सामाजिक परिवेश छ । यही परिवेशले गर्दा व्यवसायी छिटो नाफा हुने व्यापारतिर जाने अवस्था बनेको छ ।

पछिल्लो केही समयलाई हेर्दा उद्योग खोलेर नाफा गर्न निकै सकस छ । तर, आयात गर्दा थोरै लगानीमा धेरै नाफा गर्न सकिन्छ । उनीहरूलाई उद्योग खोल्नेलाई जस्तो लगानीको जोखिम पनि हुँदैन । राज्यले नै ‘उद्योग नखोल, बरु ट्रेडिङ बिजनेस गर’ भनेर प्रेरित गरेको भान हुन्छ । हरेक क्षेत्रमा हेर्ने हो भने अधिकांश विदेशी सामान देखिन्छ । राज्यको प्रशासनिक केन्द्र सिंहदरबारमा समेत प्रयोग भएका अधिकांश सामान नेपालमा बनेका कम छन् । भएको उत्पादनलाई पनि प्रतिस्पर्धी हुन दिइएको छैन । 

यद्यपि, नेपालको निजी क्षेत्रले आफ्नो प्रयासमा केही राम्रो गर्ने प्रयास गरेको छ । त्यसको उदाहरण केही औषधि उद्योग हुन् । तर, अहिले राम्रो काम गनेहरू ओझेलमा पर्ने परिस्थिति बनेको छ । सरकारलाई बढी कर उठाउनुपर्ने छ । त्यसैका आधारमा बढी कर तिराउन अनेक तरहले आतंकित गर्ने, निरुत्साहित गर्ने, आरोपित गर्ने, सामाजिक रूपमा बदनाम गर्ने प्रवृत्ति बढेको छ । कर कार्यालयमा बस्ने हरेक कर्मचारीलाई कसरी बढी कर असुल गर्ने र गराउने ? भनेर सिकाइन्छ । त्यसको आधारमा उसको सफलताको मापदण्ड बनाइन्छ । नियमअनुसारको कर लिएर कसले बढी उद्योग–व्यवसायलाई सहजीकरण ग¥यो ? भन्ने मूल्यांकन गर्ने संस्कारको विकास नै गरिएन । 

प्रायः कुनै पनि सरकारी अड्डामा सहज र छिटो काम हुँदैन । त्यसरी सहज र छिटो काम नगर्दा सम्बन्धित कर्मचारीलाई कुनै प्रश्न गरिन्न । बरु कुनै कर्मचारीले सहजै काम गरिदियो भने किन ग¥यो ? भनेर प्रश्न उठाउने अवस्था छ । घुस खाएर काम गरेको हुन सक्ने आशंकामा मानसिक रूपमा प्रताडित गर्ने अवस्था बन्दै गइरहेको देखिन्छ । यही प्रवृत्तिका कारण नेपालमा इमानदार कर्मचारी, व्यवसायी र कर्पोरेटहरू अघि बढ्न सकेका छैनन्, वृद्धि हुन सकेका छैनन् । देशमा अनेक समस्या छन् । समस्या छन् भन्दैमा केही गर्न सकिन्न भनेर बस्न भने हुँदैन । हामी चुप बसेका छैनौं । सुधारका लागि आग्रह गर्ने, दबाब दिने, जागरण गर्ने काम निजी क्षेत्रबाट भएको छ । 

फेरि पनि भन्छु, व्यवसायमा कर्पोरेट कल्चरको विकास हुन मेरो बुझाइमा तीनवटा आधारभूत कुराको आवश्यकता छ । पहिलो कुरा, संस्थाहरू विधिले चल्ने बनाउनु प¥यो । दोस्रो, उपयुक्त प्रविधि र उपयुक्त जनशक्तिको छनौट गर्ने क्षमता राख्नुप¥यो । र, तेस्रो, उत्पादन मात्रै गर्ने होइन, बजार पनि बुझ्ने र सोअनुसारको रणनीति बनाउन सक्नुप¥यो । हरेक उद्योगले आफ्ना उत्पादन र सेवा स्वदेशी मात्रै नभएर विदेशी प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वास र क्षमताको विकास गर्नुपर्छ । त्यसमा हाम्रो राज्य प्रणाली, कानुन र समाजले साथ दियो भने हाम्रा उद्योग र कर्पोरेट हाउसहरू सबल बन्छन् । तर, उद्योगी व्यवसायीले मात्रै प्रयास गर्ने, सरकार र समाजले बुझेन भने कुनै अर्थ हुँदैन । अहिलेसम्म भइरहेको त्यही हो । 

निजी क्षेत्रलाई सिर्जनात्मक बनाउने, सिर्जनात्मकतालाई प्रोत्साहित गर्ने राज्यको नीति हुनुपर्छ । जबसम्म राज्यले आफ्ना नागरिकको सम्मान गर्दैन, व्यावसायिक संस्थाहरूको विकास पनि हुँदैन । किनभने व्यवसायी भनेको जोखिम लिने व्यक्ति हो । भोलिको कुरा अहिले नै बुझ्ने प्रयास गर्छ । नयाँ सोचका साथ नयाँ सिर्जना गर्न खोज्छ । के गर्दा म सफल हुन सक्छु ? अरूभन्दा राम्रो हुन सक्छु ? भन्ने दृष्टिकोणले काम गरेको हुन्छ । उ ‘स्वप्नद्रष्टा’ बन्छ । सपना देख्नेहरूलाई हामीले प्रोत्साहित गरेनौं भने त्यो सपना मर्दै जान्छ । र, उसले समाजका लागि राम्रो देन दिन सक्दैन । दुःखको कुरा अहिलेसम्म त्यही भइरहेको छ र देशमा मेरा तीन दशक खेर गएका छन् ।

कर्पोरेट नेपालको दशौं बार्षिकोत्सवमा प्रकाशित जर्नल बुक ‘कर्पोरेट कल्चर’बाट

यो पनि पढ्नुहोस्ः

नेपालमा व्यावसायिक संस्कारको मार्गचित्र

सम्पादकीयः मिडियामा व्यावसायिक संस्कार र ‘कर्पोरेट नेपाल’

Advertisement