रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्दैन : महासंघ अध्यक्ष ढकाल

'दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्र रोग पहिचान गरी निदान नगर्दा समस्या झन् बल्झियो'

Advertisement

मलगायत नयाँ  कार्यकारिणी  समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एक–दुईजना साथीभाइ र परिवारबाट सुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेको छ । महासंघमा जोडिएसँगै करिब ६ लाख व्यवसायीसहितको परिवार बन्यो । 

हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो  परिवारका सदस्य हुन् । यसको अर्थ महासंघ परिवार  सम्पूर्ण निजी क्षेत्रका सदस्यहरूको हो । हाम्रो वृहत् परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहत् परिवारको आयआर्जन गर्ने सदस्यहरू हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई  आवश्यक  सेवा  र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा विना हामी काम गर्न सक्दैनौं ।  हामीलाई  सेवा र सुरक्षा दिएबापत हामी राज्यलाई कर बुझाउँछौं  ।  

Advertisement

अहिले  परिवारमा आम्दानी  र खर्चबीच  तालमेल मिलेको  छैन  ।  मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा  पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै  मात्र भए पनि प्रोत्साहन चाहेको छ । 

म युवाहरूको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठिन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ ।  यस्तो रकमको जोहो घरवार धितो राखेर नै गर्नुपर्छ । 

अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरी तयार पार्नुपर्यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अडचन हुनु भएन र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत विषय पूरा गरेपछि मात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।

तर यति हुँदा हुँदै पनि म आज यहाँ निराशामात्र व्यक्त गर्न चाहन्नँ । म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाको बारेमा पनि कुरा गर्छु । 

सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु  तथा  सेवा  आयात  गर्न  पर्याप्त छ । बैंकहरुमा  पनि  तत्काल  कर्जाका  रुपमा  दिन सकिने  करिब  ६ खर्ब रुपियाँ छ । उद्यमी  व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ ।
  
भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस  अवधिमा एक खर्ब रुपियाँको निर्यात  हुँदा  ८० अर्ब  रुपियाँ त  विद्यार्थीहरू विदेश जाँदा  बाहिरिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ । वैदेशिक लगानी  कुल  गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत हाराहारी मात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पूँजीगत  खर्च  भन्दा  झण्डै  दोब्बर  भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको छ । 

निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ । रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ । विगतमा  बढ्दो  रेमिट्यान्सले  माग  बढाउँदा  सरकारको  राजश्व  पनि  बढेको  थियो  । राजश्व अपेक्षित रुपमा बढ्न सकेको छैन । न्यून पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।

यी माथिका तथ्यांकै मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्छ । 

करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा  समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ । 

यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ ।  भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब दुइ प्रतिशत सकारात्मक भएको छ । 

नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन् ।  किनभने यस अवधिमा भारत बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व  बैंकले  नेपालको  आर्थिक  वृद्धि  चालु  वर्षमा  ३.३  प्रतिशत  मात्र  हुने  अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५।६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत बर्ष पनि नेपालको वृद्धि दुइ प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो ।

भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी  क्षेत्रले  डोर्याएको  वृद्धि  नै  हो  ।  कुनै  समयका द्वन्द्वग्रस्त  र  निक्कै  गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।

पछिल्लो  दुई बर्षमा  न्युन  आर्थिक  वृद्धि  हुनुको  कारण  निजी क्षेत्रले काम  गर्न नपाउँदा हो । यस वर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर शुन्य दशमलब ४ प्रतिशतले ऋणात्मक छ ।

म व्यक्तिगत रुपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रुपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिनँ । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।    

हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपियाँ बनाउने अवसर दियौँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भुकम्पपछि कसरी उठ्यौं रु अनि कोभिडपछि कसरी तंग्रियौं रु यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र बिकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ । सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरु सामु पाँच बुँदे प्रतिवद्धतापत्र  पेश  गरेका  छौ  । 

अहिले  निराशा  र  अविस्वास  बढेका  बेला  यहाँहरुले  यी  प्रतिवद्धता  जनाइदिनुभए मात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । 

नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्विपक्षीय लगानी सम्झौता बीआईए को खाका मन्त्रिपरिषदबाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु ।  अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौं । 

व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा संस्थाको ५८औं वार्षिक साधारणसभा उदघाटन सत्रमा प्रस्तुत मन्तव्य ।
 

Advertisement