तीन फुट ७ ईञ्चका सागरद्वारा सगरमाथा चढ्ने घोषणा

Advertisement

काठमाडौं । फरक क्षमताका सागर सुनार (विश्वकर्मा) ले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् । 

३ फुट ७ ईञ्च मात्र उचाई भएका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन लागेको बताए । 

Advertisement

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अप्रिल २१ तारिखका दिन आफूू सगरमाथा आरोहणको लागि आधार शिविर तर्फा जान लागेको जानकारी दिए । सगरमाथा आधार शिविर जानुअघि लोबुचे पिकको आरोहण गर्ने उनले बताए ।

उनले बुकिङ ओन प्रालिबाट सगरमाथा आरोहण  गर्न लागेका हुन् । दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आट आएको सागर बताउँछन् । 
दिदी उर्मिलाले नै उनलाई आर्थिक रुपमा सहयोग गरेको उनको भनाइ छ । अहिले आर्थिक सहयोगको लागि सागर शिखर संस्था गठन गरेर अभियान समेत चलाइरहेका छन । उनले पत्रकार सम्मेलनमार्फत सहयोग गर्नको लागि अपिल समेत गरे ।

‘हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ । हेलाँ गर्छ । हेप्छ । म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु,’ सागरले भने ।  

सागरले यसअघि दोलखाको रामदुङ पिक (५,९२५मिटर) को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन् । सागरको होचो र फरक क्षमता भएकाहरुको एउटा संस्था खोल्ने योजना छ । सगरमाथासहित ७ वटै महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

सागरको जन्म कास्कीको मादी गाउँपालिका वडा न। ११ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा भएको थियो । बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन गर्न सके । सागर २१ वर्षको उमेरमा काठमाडौं आएका थिए । त्यसपछि उनी सुन पसलमा काम गर्न थाले । बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नु पर्यो । टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले । अपरेशन भएपछि अहिले उनको अवस्था अलि ठिक भएको छ । अध्ययनको लागी पनि उनले दिदीको प्रोत्साहनले गर्दा उनले २०८० सालमा एसइइको परीक्षा पनि दिएका छन् ।
 

Advertisement