सञ्चालन नाफा बढ्दा घट्यो कुमारी बैंकको खुद नाफा, कस्ता छन् अन्य वित्तीय सूचक ?

Advertisement

काठमाडौं । कुमारी बैंकको सञ्चालन नाफा बढेको छ भने  खुद नाफा घटेको छ ।

बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालन मुनाफा साढे २१ प्रतिशत बढेको छ ।

Advertisement

चालू आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो । गत आवमा बैंकले १ अर्ब ८६ करोड रुपियाँ सञ्चालन मुनाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ६०.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ।

सञ्चालन मुनाफा बढे पनि बैंकको खुद नाफा भने समीक्षा अवधिमा घटेको छ । गत आवको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपियाँ खुद नाफा कमाएको  बैंकले चालू आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड मात्र नाफा कमाएको छ । बैंकको कर खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपियाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २१.३८ रुपियाँ ऋणात्मक छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३.९० रुपियाँ घटेर ५.३५ रुपियाँमा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपियाँ ५२ पैसा रहेको छ।

२६ अर्ब २२ करोड रुपियाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपियाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपियाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपियाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement