हिमालयन हाइड्रो एक्स्पो सुरु : जलस्रोतको महत्व बुझी सदुपयोग गर्न सक्नुपर्छ- मन्त्री बस्नेत

Advertisement

काठमाडौं । बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् । 

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्याली निकालिएको छ । र्यालीमा तीन सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु रहेका छन् । स्काई टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर ¥याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरु शुरु हुने आयोजक स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) ले जनाएको छ । 

Advertisement

एक्स्पोको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए । 

‘सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ,’ उनले भने, ‘नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ ।’

कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए । उनले विद्युतीय सवारीसाधनको र्याली नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताए । 

सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए ।
अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्नेभन्दा बाहेकका कुरा विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पु¥याउने विश्वास रहेको बताए । 

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए । 

 

Advertisement