सुपर ओभरमा पाकिस्तानविरूद्ध अमेरिकाको जित

Advertisement

काठमाडौं ।  आईसीसी टी–२० विश्वकप २०२४ को समूह चरणमा बिहीबार अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको छ ।

पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक हुँदा सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकालाई जित दिलाए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए ।

Advertisement

१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिंदै खेल बराबर गराए नतिजाको निर्णयका लागि सुपर ओभर आवश्यक परेको हो ।

अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

प्रतियोगितामा अमेरिकाको लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो । लगातार दोस्रो जित निकालेको अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ ।

Advertisement

Advertisement