काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताएका छन् ।
शनिवार राजधानीमा आफ्नो पार्टीको स्थापनाको अवसरमा आयोजित कार्यक्रममा उनले पूरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए ।
पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गर्दै वाग्लेले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताए ।
उनले भने, ‘पूरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौं । अब कार्यकर्ता नै चाहिँदैन, ‘पियोर्ली’ ‘मासबेस’ पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन । यसैले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्नेछ । संगठन चाहिँदो रहेछ भन्नेकुरा, काठमाडौंमा अलि सजिलो होला । तर अन्य जिल्लाहरुमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ ।’
वाग्लेले थपे, ‘संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरु नै भएनन् । मौन अवधिमा विज्ञप्ती निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरुले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरु चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नैपर्छ ।’
उनले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए । वाग्लेले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए ।