काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकाको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन वडाध्यक्षहरुलाई चेतावनी दिएका छन् ।
बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन भन्दै उनले सामाजिक सञ्जालमार्फत ठूला दल कांग्रेस र एमालेको इशारामा नगरसभामा अवरोध सिर्जना गर्ने प्रयास नगर्न सचेत गराएका हुन् ।
उनले शुक्रबार महानगरको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । बालेनले सामाजिक सञ्जालमा लेखेका छन्–
तीन जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।