काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । आईतवार राजधानीमा एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
उन्नाइऔं एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, सोही खेलमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आईसीसी मेन्स टि ट्वान्टी वल्र्ड कप फाइनल एशियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सरकारको तर्फबाट खेलाडीहरुलाई दुई करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम शुरु भएको बताए ।
उनले नेपालमा खेलाडीहरुको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताउँदै खेलाडी, खेलप्रेमी, प्रशंसकहरुबाट सिकेको सुसंस्कृत कुराहरु राजनीतिमा समावेश गर्ने बताए ।
श्रेष्ठले भने, ‘बेथितिहरु पहिलादेखि नै छ । हामीले मन्त्रालयमा नियमित काम गर्न थालेका छौँ, पहिला त्यति पनि हुँदैन थियो । हाम्रो सचिव सावले हरेक हप्ता कार्य विवरण सामाजिक सञ्जालमा प्रकाशित गर्नुभएको छ । नेपालमा पोलिटिक्समा टिमवर्क र स्पोर्टमेन्सिप नभएर देशको राजनीति फोहोर भएको यही कारणले हो नि त । यही सुसंस्कृत राजनीति खेलाडीबाट, खेलप्रेमीबाट, प्रशंसकहरुबाट सिकेको कुरा राजनीतिमा ल्याउन चाहन्छु । सबैको सहयोग चाहिन्छ ।’
नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट विश्वकप खेल्दा नेपाली क्रिकेट टिमलाई गरेको मायाले ठूलो हौसला मिलेको बताए । उनले क्रिकेटमा भविष्य सुरक्षित छ भन्नेकुरा प्रमाणित भएको बताए ।
श्रेष्ठले भने, ‘आज नेपाल विश्वकप खेल्दा जुन माया हामीले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पाएका छौँ । यो मायाले मलाई लाग्छ, अहिलेको पुस्ता मात्र होइन अब आउने पुस्ताहरुलाई पनि क्रिकेटमा लागेर भविष्य सुरक्षित हुने विश्वास राखेको महशुस हामीले गरेका छौँ । नेपाल विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको छ, हामी आशा गर्दैछौँ, टिममा भरोसा छ । अब फेरि नेपाल विश्वकप खेल्न १० वर्ष कुर्न नपरोस् । १० वर्षको ग्याप कम गर्न अहिलेदेखि नै घरेलु संरचनाको विकासमा लाग्नुपर्छ ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरुको पुरस्कार राशी प्राप्त हुनेले खेलाडीहरुमा ठूलो हौसला मिल्ने बताए । उनले काम गर्ने हुटहुटी एउटा नेतृत्वले राख्यो भने सकिन्छ भन्नेकुरा मन्त्री श्रेष्ठबाट पूरा भएको बताए ।
घिसिङले परिषद्को बैठकले निर्णय गरेर फाइल पठाउने मात्रै काम हुने भन्दै सबै बाँकी काम मन्त्रालयबाट नै पूरा हुने बताए ।