काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत आज जारी बंगलादेशविरुद्धको खेलमा नेपालले १०७ रनको लक्ष्य पाएको छ ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउटबनाएसँगै १०७ रनको लक्ष्य पाएको हो ।
दक्षिण अफ्रिकाविरुद्ध १ रनको झिनो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ रहेको छ । र नेपालले सुरुवात देखि नै बंगलादेशलाई दबाबमा राखेको थियो ।
इनिङको पहिलो बलमा नै सोमपाल कामीले नेपालका लागि पहिलो सफलता दिलाएका थिए । तान्जिद हसनको ब्याटमा एज लागेर सोमपालले नै क्याच गरेका थिए ।
दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दोस्रो ओभरमा नाजमुल होसेन शान्टोको रूपमा लिए । शान्टो ४ रन बनाएर दीपेन्द्रद्वारा बोल्ड आउट भएका थिए ।
बंगलादेशका लागि केही आशलाग्दो सुरुवाती गरेका लिटन दास पाँचौं ओभरमा पेभेलियन फर्किए । १२ बलमा १० रन बनाएर उनी सोमपालको बलमा विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए ।
अर्को ओभरमा बलिङ गर्न आएका कप्तान रोहित पौडेलले पनि नेपालमा लागि सफलता दिलाए । ठूलो शट प्रहार गर्ने क्रममा टोहिद हृदोय ९ रन बनाएर सन्दिप लामिछानेको हातबाट समातिए ।
पाँचै विकेटका लागि शाकिब अल हसन र महमदुल्लाहले साझेदारी तोडिनुअघि २२ रनको साझेदारी गरे । महमदुल्लाह नवौं ओभरको अन्तिम बलमा १३ बलमा १३ रन बनाएर रनआउट भएका थिए ।
१२औं ओभरको चौथो बलमा शाकिब पनि पेभेलियन फर्किए । २२ बलमा १७ रन बनाएका उनलाई रोहित पौडेलले लेग बिफोर विकेटमा फसाएका थिए ।
१४औं ओभरमा सन्दिपको नाममा पहिलो विकेट रह्यो । तान्जिम हसन सकिबलाई उनले सुन्दर बल गर्दै बोल्ड गराए । १५औं ओभरमा सन्दिपले व्यक्तिगत दोस्रो विकेट लिए । २६ बलमा १२ रन बनाएका जाकेर अली पनि उनको बलमा बोल्ड भए । यो विकेट सन्दिपको १००औं टि-२०आई विकेट रहेको थियो ।
नवौं सफलता दीपेन्द्रले दिलाए । केही आक्रामक रहेका रिशाद होसेन ७ बलमा १३ रन बनाएर अनिल साहद्वारा लङ-अफमा क्याच आउट भएका थिए ।
अन्तिम विकेट अन्तिम ओभरमा नै रनआउटको रूपमा खस्यो । रोहित र दीपेन्द्रको साझेदारीमा मुस्तफिजुर रहमान ३ रन बनाएर रनआउट भएका थिए । बंगलादेशका तास्किन १५ बलमा १२ रन बनाएर अविजित रहे ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २-२ विकेट लिए ।
कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिए । सन्दिपले ४ ओभरको आफ्नो कोटा पुरा गर्दै १ मेडन सहित १७ रन दिए । यस्तै कुशल भुर्तेलले भने ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिएनन् । १९औं ओभरमा पहिलो ओभर बलिङ गरेका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।