काठमाडौं । बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ ।
घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएपनि व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको हो । विभिन्न पौष्टिक तत्वहरुले भरिपूर्ण ओलको खेती गर्न अरू बाली लगाउन जस्तो मेहनत लाग्दैन । न त किरा लाग्ने डर, न मल अभावको चिन्ता । तर बीउ नपाउने समस्याबाट आजित बनेका किसान ओल खेती बिस्तार गर्नबाट वञ्चित भएका हुन् ।
किसान विद्यानन्द साह र डिल्लीप्रसाद मेहता अरु खेती भन्दा सहज ओल खेतीमा भएपनि बीउ बिजनको अभावका कारण बिस्तारै खेती कम हुँदै गएको बताए । ओल खेती गर्दा औषधि र कुनै विषादीको पनि प्रयोग गर्न नपर्ने र मेहनत पनि कम लाग्ने तथा भोज भतेरमा तरकारी, अचार बनाएर खाने गरिएको बताए ।
ओलबाट विभिन्न पौष्टिक तत्व पाइने बताउँदै ओल रोप्ने समय भनेको माघदेखि फागुन अन्तिमसम्म हो । माटोमुनि फल्ने कन्दमुलका रूपमा चिनिने ओल वर्षायाम अर्थात असार, साउन र भदौ महिनामा खानयोग्य हुन्छ । ओलले गाउँघरमा वर्षायाममा तरकारीको अभाव टार्ने काम मात्र गर्दैन, स्वाद, सुगन्ध र पौष्टिक गुणले गर्दा ओल एक लोकप्रिय साकाहारी खानेकुरा बनेको छ । तराई समुदायमा परम्परागत भान्सा र व्यञ्जनमा ओलको महत्वपूर्ण स्थान छ ।
परम्परागत तरिकाले सानो क्षेत्रफलमा ओलको खेती गरिरहेका किसानले बीउ नपाउने समस्याले गर्दा यसको खेती बिस्तार गर्न नपाएको गुनासो गरेका छन् । समयमै उत्पादन गर्नसक्दा स्थानीय बजारमा ओलले राम्रो भाउ पाउने थाहा हुँदाहुँदै पनि ओल खेती बिस्तार गर्न नसकेको दुखेसो किसानको छ । किसान रामेश्वर मेहताले ओल खेती लगाउँदा बीउ समयमा नपाउने गरेको बताए । उनले सर्लाही जिल्लातिरबाट ल्याएर किसानहरुलाई वितरण गर्ने गरिएको सुनाए ।
ओल खेती बेमौसमी हुने भएकाले असार, साउन र भदौमा तरकारीको अभाव हुँदा किसानलाई लाभ हुने उनको भनाइ छ ।
ओलको व्यावसायिक खेतीका लागि पुँजीगत लगानी, प्राविधिक ज्ञान र सीप आवश्यक पर्छ । त्यसबाहेक राम्रो बजार पहुँच र व्यावसायिक योजना पनि महत्वपूर्ण हुन्छन् । तर व्यवस्थित तरिकाले ओल खेती गरेमा यसबाट राम्रो आम्दानी लिन सकिन्छ । यी सबै कुराको ज्ञान किसानलाई दिने गरेको हरिनगर गाउँपालिकाले ओलको बिउ वितरण गरी यसतर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । तथापि पर्याप्त बीउ नपाएका कारण किसानले चाहेअनुसारको परिमाणमा यसको बीउ बाँड्न नसकेको हरिनगरका कृषि शाखा प्रमुख रमेश न्यौपानेको भनाइ छ ।
ओल बलौटे माटोमा ओल उत्पादन राम्रो हुन्छ भने कम्पोष्ट मलले ओलको गानो विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । तथापि भारतमा उत्पादन भएका ओल सुलभ मूल्यमा नेपालका बजारहरूमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न कठिन छ । ओल खेती विज्ञ तथा किसान मनोजकुमार सिंहले बजारको समस्या मुख्य चुनौती रहेको बताए ।
पहिले–पहिले तराईका विभिन्न स्थानमा ओलखेती गरेर मनग्य आम्दानी गर्ने किसानको संख्या धेरै थियो । तर बीउ भण्डारण गर्न कठिनाइले गर्दा बीउको पर्याप्तता नहुनु र बजार अभावकै कारण पछिल्लो समय ओल खेती गर्नेहरू घटेका छन् । ओल सेवनबारे तराईबासीमा अलि बढी ज्ञान छ । ओल खानका लागि तयार पार्दा सीप चाहिन्छ, जुन सबैमा नहुन पनि सक्छ । यी र यावत कुराहरूले गर्दा ओलको लक्षित बजार भने तराईमै सीमित भएको अनुमान कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहको छ । उहाँले ओल खेती बजारको कमीका कारण फस्टाउन नसकेको बताए । उनले ओल तराईमा परम्परागत रुपमा खाइरहेकाले मात्रै खाने गरेको बताउनु भयो ।
ओल पोषणयुक्त तरकारी हो । पहिले व्यावसायिक तबरले नै कोशी प्रदेशका सुनसरी, मोरङसहित तराईका जिल्लामा गरिने भएपनि अहिले फाट्टफुट्ट रूपमा कतै–कतै मात्र ओलको खेती गरिन्छ । मीठो र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण अहिले पाँचथर, इलामजस्ता पहाडी जिल्लामा पनि ओल लगाउन थालिएको कृषि विकास निर्देशनालयको तथ्यांक छ । तथापि, सुनसरी र मोरङका केही किसानले मात्र व्यावसायिक रूपमा ओल खेती गरिरहेको निर्देशनालयले जनाएको छ । कृषि विकास निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले ओल खेती व्यावसायिक रुपमा केही समय पहिला सुनसरी र मोरङ लगायतका जिल्लामा गरेको पाइए पनि अहिले केही फाट्टफुट्ट रुपमा मात्रै गर्ने गरेको बताए ।
कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार कोशी प्रदेशको तीन सय हेक्टर क्षेत्रफलमा ओल खेती गरिएको छ । तर व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा ओल खेती गरेको नपाइएको निर्देशनालयले जानकारी दिएको छ ।