काठमाडौं । स्टील, पाइप लगायतका वस्तु उत्पादन गर्दै आएको जगदम्बा इन्टरप्राइजेज प्रा.लि.ले बार्षिक साढे १५ अर्ब रुपियाँ आम्दानी गर्ने गरेको देखिएको छ ।
केयर रेटिङ नेपालबाट प्राप्त एक तथ्यांकअनुसार आर्थिक बर्ष २०७९–८० मा कम्पनीले १५ अर्ब ४६ करोड रुपियाँ आम्दानी गरेको छ । त्यसअघि आव २०७७–७८ मा १४ अर्ब दुई करोड ६० लाख रुपियाँ र आव २०७८–७९ मा १५ अर्ब ४६ करोड १० लाख रुपियाँ आम्दानी उक्त कम्पनीले गरेको देखिन्छ ।
हाल कम्पनीको दायित्व ४६ लाख ५० हजार रुपियाँ मात्रै देखिएको छ । ऋण भने आठ करोड ७६ लाख १० रुपयाँ देखिएको छ ।
यो कम्पनी (उद्योग) सन् २००१ मार्चमा पर्सामा स्थापना भएको थियो । यसले बिशेषगरि स्टिल प्रोडक्ट उत्पादन गर्दै आएको छ । कम्पनीले आइरन पाइप, छड, हट रोल स्प्रिट लगायतका वस्तु उत्पादन गर्दै आएको छ ।
यसको बार्षिक उत्पादन क्षमता नौ लाख २० हजार ६०० मेट्रिक टन रहेको छ । कम्पनीले उत्पादन गरेको स्टिल प्रोडक्ट पुल निर्माण, जलविद्युत् परियोजना निर्माण, सडक निर्माण लगायतका पूर्वाधार विकासमा माग हुने गरेको छ ।
कम्पनीले बैंक सुविधाको लागि केयर रेटिङमा रेटिङ गराएको थियो । त्यसमा केयर रेटिङले दिर्घकालिन बैकिङ सुविधाका लागि ‘केयर एनपी बीबी’ र अल्पकालिन बैंकिङ सुविधाका लागि ‘केयर एनपी ए–४’ रेटिङ दिएको छ । कम्पनीले १५ अर्ब ८० करोड ६६ लाख रुपियाँ बराबरको बैंकिङ सुविधा लागि यस्तो रेटिङ गराएको थियो ।
कम्पनीको ऋण केही बढेको देखिएको छ । आव २०७८–७९ मा चार करोड ३९ लाख रुपियाँ ऋण थियो । अहिले त्यो करिब नौ करोड रुपियाँ पुगेको छ । बीचमा धेरै पुँजीगत खर्च गरेका कारण पनि ऋण बढेको बताइएको छ ।
कम मागले कम्पनीको आम्दानी र नाफामा दबाब पार्ने सम्भावना छ, जसले यसको ऋण लिने क्षमता प्रभावित बनाउने बताइएको छ । रेटिङमा कम्पनीको ऋणमा निर्भरता, ब्याज दरहरूको उतार–चढाव, कच्चा पदार्थको मूल्यमा अस्थिरता, विदेशी मुद्रा उतार–चढावको जोखिम र अत्यधिक प्रतिस्पर्धात्मक स्टिल उद्योगमा उपस्थिति जस्ता पक्षहरूलाई ध्यानमा राखेको केयर रेटिङले जनाएको छ ।
तर, कम्पनीको दीर्घकालीन सञ्चालन अनुभव, व्यवस्थापन टोली, स्थापित ब्रान्ड, देशभरको बजार उपस्थिति र विविध उत्पादन दायरा बलियो पक्ष भएको बताइएको छ ।