साउनमै ४४ हजार घरजग्गाको कारोबारः उपत्यकामा मात्रै चार हजार, करीब ४ अर्ब राजश्व संकलन

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात् साउनमा ४३ हजार ८३५ वटा घरजग्गा कारोबार भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो । लिखित पारितको आधारमा यस्तो आँकडा देखिएको हो ।

यो कारोबार गत आवको सोही महिनाको तुलनामा १२ प्रतिशतले बढी पनि हो । गत आवको सोही आवमा ३९ हजार २६३ वटा यस्तो कारोबार भएको थियो । तथ्यांकअनुसार गत आवभरमा भने पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको थियो । 

Advertisement

साउनमा भूमि सुधार तथा मालपोत कार्यलय इनरुवा, सुनसरीमा सबै भन्दा धेरै यस्तो कारोबार भएको छ । त्यहाँ एक हजार ९०४ वटा घरजग्गा कारोबार भएका छन् । 

दोस्रो स्थानमा भने मालपोत कार्यालय, राजविराज सप्तरी रहेको छ । त्यहाँबाट एक हजार ६०८ वटा घरजग्गा कारोबार भएको छ । तेस्रो स्थानमा रहेको बेलवारी मोरङको मालपोत कार्यालयबाट एक हजार ५२० वटा कारोबार भएको छ । 

काठमाडौं उपत्यकामा कति ? 
समीक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार ९२१ वटा घरजग्गा खरिद बिक्री भएको छ । त्यसमा ललितपुरको लगनखेल मालपोत कार्यलयबाट ९०८ र गोटीखेल मालपोत कार्यालयबाट १३ वटा घरजग्गा कारोबार भएको छ । यस्तै, भक्तपुर मालपोत कार्यालयबाट ८३० वटा घरजग्गा कारोबार भएको देखिन्छ । 

यस्तै, काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १८४, चावहिल मालपोत कार्यालयबाट ४५३, कलंकी मालपोत कार्यालयबाट ६५४, मनमैजु मालपोत कार्यालयबाट २९४, साँखु मालपोत कार्यालयबाट ४१४ र टोखा मालपोत कार्यालयबाट १७१ वटा घरजग्गाका कारोबार भएका छन् । 

बैंकहरुमा तरलता बढ्दै जाने र व्याजदर पनि सस्तो भएपछि कर्जा पाउन सजिलो भएको छ । त्यसले गर्दा घरजग्गा कारोबार बढेको बताइन्छ । यद्यपि, यो अझै सामान्य अवस्थामा नपुगेको व्यवसायीहरु बताउँछन् । 

३२ प्रतिशतले बढ्यो राजश्व संकलन 
साउन घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजश्व ३२ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपियाँ राजश्व घरजग्गा कारोबारबाट प्राप्त भएको छ । यो अघिल्लो आवको सोही महिनाको तुलनामा ३२ प्रतिशतले बढी हो । २०८० साउनमा दुई अर्ब ९१ करोड चार लाख २७ हजार रुपियाँ राजश्व प्राप्त भएको थियो । 

घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको बिभागको भनाइ छ । सरकारको आम्दानीमा यस्तो राजश्वको हिस्सा उच्च नै हुने गर्छ । अहिले घरजग्गा कारोबार संख्या बढेपछि यस्तो राजश्व संकलन  बढ्दै गएको देखिन्छ । 

Advertisement

Advertisement