काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताएका छन् ।
उनले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा माधव नेपालले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गरे ।
संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता पनि माधव नेपालले औंल्याए । प्रधानमन्त्री केपी ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै उनले त्यस्ता खालका गल्ती स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । नेपालले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताए ।
उनले भने, ‘हाम्रो संविधानले केही दिएको छ, केही दिएको छैन । संविधान अवश्य पनि छलफलको विषय बन्छ । तर त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौं । कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर । यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ । त्यही कुरा मैले संसदमा पनि उठाएको थिए । त्यही कुरा मैले उठाएको छु सबै ठाउँमा पनि । मलाई बोल्न त मन थिएन । तर सन्दर्भ यहाँ आयो ।’
माधव नेपालले थपे, ‘पुष्पकमल दाहालले मलाई के सुनाउनु भयो भने– आज आउनुभएको थियो । तपाइँ र मेरो सम्बन्ध भनेको अब अन्तिम सास फेरुन्जेलसम्म हो । स्वर्ग पनि सँगै जाने हो, नर्क पनि सँगै जाने हो । भोलिपल्ट त जाँदै थिए । बीच बाटोमा पुष्पकमल दाहालजीको पिठयूमा ठयाक्क लात्ति परेपछि पछारिनु भयो उहाँ । त्यसो हुनाले ती सन्दर्भहरु धेरै नकोटयाउ । म प्रत्येक नेतालाई भन्न चाहन्छु– मम गर्नुहोस् । आफूमाथि केही कमजोरी भएका छन् । त्यसलाई स्वीकार गर्नुहोस् ।’