काठमाडौं । केबिन क्रु एशोसिएसन अफ नेपालकी अध्यक्ष तथा नेपाल वायुसेवा निगमकी इनफ्लाइट सुपरभाइजर प्रदा कार्कीले नेपाल वायुसेवामा करार तथा अस्थायी सेवामा कार्यरत विमान परिचालिका (एयर होस्टेस)को भविश्वप्रति सरकार र निगम अनुदार बनेको बताएकी छन् ।
साथसाथै नामक संस्थाको कार्यक्रममा उनले नेपाल वायुसेवा निगममा करार र अस्थायी एयर होस्टेसको अवकाश अवधि फरक फरक गर्ने काम पनि भएको भन्दै करार सेवामा काम गर्नेहरुलाई ४५ बर्षमा अवकाश दिएपछि उनीहरु कहाँ जाने ? भनी प्रश्न गरिन् । एयर होस्टेसहरुले अध्ययन र अनुभव नै विमानमा काम गर्ने हो भन्दै कार्कीले ४५ बर्षमा अवकाश दिएपछि उनीहरुले आफ्नो विशेषज्ञता कहाँ प्रयोग हुन्छ ? भनी थप प्रश्न गरिन् ।
निगमका वायुसेवाहरुमा जोखिमयुक्त काम गर्ने एयर होस्टेसप्रति सरकारको ध्यान नगएको उनले बताइन् । कार्कीले आफू पनि करार सेवामा नै कार्यरत रहेको बताइन् । उनले भनिन, ‘अहिले म ४० वर्ष लागिसकें । अब मैले ४५ वर्षपछि अवकाश लिनुपर्छ । त्यसपछि म कहाँ जाने ? मेरो विशेषज्ञता कहाँ प्रयोग हुन्छ ? हामीले सरकारबाट के आशा गर्ने ?’
जोखिमयुक्त काम गर्ने एयर होस्टेसहरुलाई करार सेवाका नाममा उमेर भइन्जेल सेवा लिने र ४५ बर्षमा नै अवकाश दिएर उनीहरुको रोजीरोटीको अनिश्चितता अन्त्य गर्नुपर्ने कार्कीले बताइन् । सरकारकै संस्था नेपाल वायुसेवा निगमका लागि काम गर्दा आफूहरुलाई राम्रो व्यवस्थापन गर्न नसकेको उनले बताइन् ।
कार्कीले थपिन, ‘एयर होस्टेस भएपछि हामीले जिउडाल पनि मेन्टेन गर्नुपर्ने, घरमा पनि हेनुपर्ने, बालबच्चालाई पनि हेनुपर्ने, काममा जाँदा जहाजभित्र ३५–३६ हजार उचाइमा जहाजभित्र हुने हावाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । गर्भ बस्न पनि गाह्रो, मलाई पनि त्यस्तै भएको थियो । मलाई पनि दुई–तीन वर्ष गर्भ बस्न लाग्यो ।’ त्यस्ता समस्या धेरैले भोगेका छन । गर्भ बसिसकेपछि हामीलाई बिदाको समस्या हुने, बिदा पाए पनि पुनः काममा ज्वाइन हुन् फेरि चिटिकै भएर जानुपर्यो । शरिर पनि राम्रो हुनुपर्यो । धेरै कठिनाईमा काम गर्नुपर्ने बाध्यता छ ।’
उनले अनियमित ड्युटीका कारण आफूहरुको स्वास्थ्यमा पनि गम्भीर समस्या पर्ने गरेको बताइन् । ‘अर्को समस्या भनेको ‘बडिक्लक’को छ । (यो एक प्राकृतिक, आन्तरिक जैविक घडी हो जसले शरीरको तापक्रम, हर्मोन र निद्राहरूलाई नियमन गर्न मद्दत गर्छ ।) हामी राति पनि उठेर काममा जानुपर्ने हुन्छ । अन्तर्राष्टिय उडानहरु हुँदा हाम्रो समय तालिका हुर्दैन । राति उठ्दा महिलाहरुमा थाइरोइडको समस्या हुने, त्यसपछि प्रेसर हुने । विभिन्न रोगहरु पनि लाग्ने’ कार्कीले भनिन् । एयर होस्टेसहरुले यति गर्दा पनि राज्यले आपूmहरुलाई बेवास्ता गर्ने गरेको उनको गुनासो छ ।