काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको सोमबार विमोचन गर्दै ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्तपन्न नहुने बताए ।
उनले भने, ‘नेपालले सन्तुुलत, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुुभलो चिताउँदैनौँ । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ । हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छौँ । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ ।’
कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम गर्नु हुँदैन भन्दै ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने बताए । उनले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गरे ।
त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने ओलीको तर्क छ । उनले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युगान्तकारी काम भएको दावी गरे ।
तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राख्न सक्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताए ।