कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुनसक्ने आशंका गरिएको छ ।
‘पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ,’ प्रवक्ता गुरुङले भने ।
एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए । उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुनसक्ने आशंकाले दिनभर खोजी गरिएको बताए ।
‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुन सक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुईवटा लौरो भेटिएको छ,’ प्रवक्ता गुरुङले भने, ‘अन्य कुरा फेला पार्न सकेका छैनौँ ।’
मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने उनले जानकारी दिए । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताए ।