काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । सो बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
त्यस्तै, साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै सोही बैठकमा हस्तकला क्षेत्रका नीतिगत समस्याका सम्बन्धमा नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल हुनेछ ।
आजै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ ।
दिउँसो २ बजे बैठकमा निर्माण सम्पन्न भइसकेका विभिन्न हाइड्रोपावरको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिमा देखिएका समस्या र रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।
त्यसैगरी, दिउँसो ३ बजे बस्ने भनिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुने कार्यसूची रहेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा समितिको कार्यविधि पारित गर्ने र समितिको वार्षिक कार्यतालिकाका विषयमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ । बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।
त्यसैगरी संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक पनि आजै बस्नेछ । बैठकमा विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।