आईएमई मोटर्सको ‘ड्राइभिङ सिट’मा २८ वर्षे निशान

Advertisement

काठमाडौं । देशकै ठूलो व्यावसायिक घरानामध्येका एक आईएमई ग्रुपको विरासत हुन निशान ढकाल । उमेरले भर्खरै २८ पुगेका उनको भर्खर करिअर सुरू गर्ने बेला हो । तर निशान भने कमर्सियल तथा हेभी इक्युपमेन्ट सेग्मेन्टमा नेपालकै अग्रणी हुने दौडमा छन् ।

निशानले आईएमई ग्रुपअन्तर्गतको आईएमई मोटर्सको जिम्मेवारी सम्हालेकै पाँच वर्ष पुग्न लाग्यो । यो अवधिमा उनको नेतृत्वमा बजारीकरण भइरहेको सवारीसाधनले उक्त सेगमेन्टमा करिब ३० प्रतिशत बजार हिस्सा ओगटिसकेको छ । आक्रामक बजार बिस्तारका लागि निशानको टिममा करिव ३०० जनाले काम गरिरहेका छन् । 

Advertisement

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका जेठा छोरा निशानले मूलतः अशोक लेल्यान्डका कमर्सियल गाडी र स्कर्टसका हेभी इक्युपमेन्टको व्यवसाय सम्हालिरहेका छन् । ग्रुपअन्तर्गत धेरै कम्पनी भएपनि उनी अटोमोबाइल क्षेत्रमै लाग्नुको पछाडि पनि रोचक संयोग छ । निशान भारतको नयाँ दिल्लीमा ‘प्लस टु’सम्मको अध्ययनपछि उच्च शिक्षाका लागि बेलायत हानिए । बेलायतको लन्डनस्थित युनिभर्सिटी अफ वेस्ट मिनिस्टरबाट स्नातक सकेपछि सन् २०१५ आसपासमा उनी नेपाल फर्किए । 

स्नातकोत्तर अमेरिकामा गर्ने तयारी गरिरहेका निशानले त्यो बेलामा  करिब ६ महिना नेपालमै बिताए । संयोगवश त्यही समयमा आईएमई ग्रुपले अटोमोबाइल क्षेत्रमा हात हालेको थियो । त्यो सुरूवाती समयलाई निशानले नजिकबाट नियालेका थिए । केही समय नेपालको बसाईपछि उनी थप अध्ययनका लागि अमेरिका पुगे । क्यालिफोर्नियास्थित हल्ट बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेपछि उनले नेपाल फर्केर आईएमई मोटर्सको नेतृत्व सम्हाले । 

अध्ययनपछि व्यापार
नेपाल फर्केपछि निशानले आईएमई मोटर्सको टिम तयार भइसकेको थिएन । आईएमई ग्रुपका अन्य सबै कम्पनीमा नेतृत्व राम्रो र व्यवस्थापन राम्रो थियो । अटोमोबाइल क्षेत्रमा आफ्नो भिजनअनुसार काम गर्न निशान ढकाल अघि सरे । यसको नेतृत्व सम्हाले । 

आईएमई मोटर्समा ‘वर्किङ कल्चर’ अन्य ठाउँभन्दा फरक रहेको उनी बताउँछन् । ‘हाम्रा सबै  कम्पनीमा काम गर्ने वातावरण अलग्गै छ । हामी रिजल्ट ओरिएन्टेड छौं । यो कम्पनीमा मैले लिड गरे पनि हामी सबै कर्मचारीको सल्लाहसुझावपछि मात्र कुनै निर्णय गर्छौं । म लिडर भएको हुनाले भिजन देखाउने मात्र हो । त्यसलाई अगाडि लैजान सबै कर्मचारीले उत्तिकै मिहिनेत गर्नुहुन्छ,’ उनी भन्छन् । 

वास्तवमा आईएमई मोटर्समा निशानले सफलता मात्र होइन, असफलता पनि देखेका छन् । आईएमईले नेपालमा ल्याएको संसारकै राम्रोमध्येको एक ब्राण्ड हार्ले डेभिडसन र यूएम बन्द गर्नुपर्ने अवस्था आयो । यी दुवैको प्लान्ट भारतबाट विस्थापित भएपछि आईएमई पनि यसबाट हात झिक्न बाध्य भयो । निशान भन्छन्, ‘हामीले कुनै पनि ब्राण्ड ल्याउँदा त्यसको इतिहास, भिजनलगायतका कुरा बुझेर पनि ल्याउँछौं । तर सबै कुरा बुझेर हात हाल्दा पनि प्राविधिक समस्या आउने रहेछ । यी ब्राण्डको प्रसंगमा पनि यही भयो ।’ 

यो असफलताले पनि आफूलाई एउटा पाठ सिकाएको निशानको अनुभव छ । अहिले कमर्सियल र हेभी इक्युपमेन्टको बजार राम्रो नभए पनि छिट्टै यसको बजार उठ्ने उनको विश्वास छ । कोरोना महामारीपछि बसको बसको बजारमा गिरावट आयो । त्यस्तै हेभी इक्युपमेन्टको बजार पनि अहिले राम्रो छैन । तर अब भने बजार बढ्ने संकेत देखिन थालेको छ ।

– कोरोना महामारीपछि बसको बसको बजारमा गिरावट आयो । त्यस्तै हेभी इक्युपमेन्टको बजार पनि अहिले राम्रो छैन । तर अब भने बजार बढ्ने संकेत देखिन थालेको छ । – आईएमई मोटर्समा निशानले सफलता मात्र होइन असफलता पनि देखेका छन् । आईएमईले नेपालमा ल्याएको संसारकै राम्रोमध्येको एक ब्राण्ड हार्ले डेभिडसन र यूएम बन्द गर्नुपर्ने अवस्था आयो ।  

नीतिगत अस्थिरता बाधक
नेपालमा नीतिगत स्थिरता नभएका कारण पनि व्यवसाय फस्टाउन नसकेको निशान ढकालको बुझाइ छ । सरकारले सम्पूर्ण क्षेत्रमा स्पष्ट र दीर्घकालीन नीति लिए व्यावसायिक वातावरण राम्रो हुने उनी तर्क गर्छन् । नीति परिर्वतन हुनाले व्यवसायीहरु लगानी गर्न हच्किइरहेको अवस्था छ । कमर्सियल गाडीमा बिएस÷युरो–६ लागू गर्ने भनिएको छ । तर कहिले गर्ने, त्यसका लागि चाहिने पूर्वाधार, टेक्नोलोजीलगायतमा चासो दिएको देखिँदैन । करको दरमा पनि स्थिरता नहुँदा व्यवसायीहरु सधैं त्रासमै काम गर्न बाध्य छन् । यो युवा व्यवसायी निशान ढकालको बुझाई हो । 

निशान व्यापारमा मात्र नभई विभिन्न संघसंस्थामा पनि आबद्ध छन् । उनी हाल नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको कार्यसमिति सदस्य छन् । यो निशानको दोस्रो कार्यकाल हो । यस्ता संघसंस्थामा आबद्ध हुनाले आफ्नो क्षेत्रको समस्या समाधान गर्न मद्दत पुग्ने उनको अनुभव छ । उनी भन्छन् ‘नाडामा आबद्ध भएपछि मैले आफूले कमर्सियल गाडी तथा हेभी इक्युपमेन्ट क्षेत्रमा देखेको र भोगेको कुरा नाडालाई प्रस्ट पार्न सक्छु । संस्थामा मैले समस्याका बारेमा प्रस्ट पारेपछि त्यो कुरा सरकारसामु पुग्न मद्दत गर्छ । यसले हामीलाई मात्र नभई सबै व्यवसायीलाई हित पुन्छ ।’

ईभीतिर आँखा
आईएमई मोटर्सको नेतृत्व सम्हालिरहेका निशानले अटोमोबाइलको लाइनअपमा नयाँ प्रडक्ट थप्ने योजना पनि बनाइरहेका छन् । हाल उनको टिमले कमर्सियल विद्युतीयसवारी साधन (ईभी)को अध्ययन गरिरहेको छ । पछिल्लो केही वर्षदेखि ईभीले सोच्दै नसोचेको प्रगति गरिरहेको छ । ‘त्यसमा हामी किन पछाडि पर्ने ? भन्ने मात्र हो’, निशान भन्छन, ‘हाम्रो विज्ञता कमर्सियल गाडीमा धेरै छ । त्यसकारण पहिलो चरणमा पिकअप ईभी ल्याउने तयारी छौं ।’ सबै कुरा ठीक रह्यो भने एक वर्षभित्र आईएमई मोटर्सको पोर्टफोलियोमा ईभी थपिन्छ । 

दुुई वर्षभित्रै नम्बर वान
जुन क्षेत्रमा लागे पनि नम्बर १ हुनुपर्ने मान्यता राख्ने निशान ढकाल सोही मान्यताअनुसार मेहेनत पनि गरिरहेका छन् । आईएमई ग्रुपको सिद्धान्त नै जुन क्षेत्रमा लागे पनि नम्बर १ हुनुपर्छ भन्ने छ । अटोमोबाइल क्षेत्रमा पनि सोही सिद्धान्तलाई आत्मसात् गर्दै उनी काम गरिरहेका छन । अबको दुई वर्षभित्रै रिजल्ट निस्कन्छ भन्ने निशानको विश्वास छ ।’
 

Advertisement

Advertisement