सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न कुलमानलाई ऊर्जामन्त्रीको निर्देशन

Advertisement

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा नायव कार्यकारी निर्देशकसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल विद्युत् प्राधिकरण सरकारकै अङ्ग भएकाले सरकारप्रति र जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । 

Advertisement

“सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ठूलो लक्ष्य राखेको छ, सरकारले राखेको लक्ष्य पूरा हुनेगरी तपाईंहरुले काम गर्नुपर्छ,” मन्त्री खड्काले भने । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको योग्यता र क्षमतामाथि सरकारले ठूलो आशा गरेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले हिजोका दिनमा बत्ती बाल्नका लागि मात्र बिजुली चाहिए पनि आजका दिनमा यसको प्रयोग अत्यधिक बढेकाले ऊर्जा खपतलाई बढाउँदै राज्यलाई आर्थिक लाभ हुनेगरी प्राधिकरणले काम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले चाँडो सेवा प्रदान गर्नेगरी काम गर्नुपर्ने बताए । विगतमा भएका कमीकमजोरीलाई सुधार्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपाल विद्युत् प्राधिकरण सरकारको मातहत रहेको संस्था भए पनि निजी संस्थाजस्तो देखिएको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणमा भएका गतिविधि र समस्यालाई दैनिक मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कतिपय विद्युत् गृहका प्लान्टमा समस्या रहेकाले त्यसलाई तत्काल मर्मतसम्भार गर्न आवश्यक रहेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणमार्फत हाल देशभर ५४ लाख ६० हजार जनताको घरमा बिजुली जडान गरिसकिएको जानकारी दिए । सोही अवसरमा उहाँले नेपाल विद्युत् प्राधिकरणले गरेका काम र त्यसभित्रका समस्याको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । 

Advertisement

Advertisement