काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सिफारिस भएका एक प्रतिस्पर्धी डा. धनन्जय रेग्मीले सीईओ नियुक्ति निष्पक्ष नभएको गुनासो गरेका छन् ।
रेग्मीले सामाजिक सञ्जालमार्फत आफूभन्दा ९ अंक कम ल्याउने दीपकराज जोशीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले नियुक्त गरेको भन्दै लोकसेवा आयोगको रोहबरमा भएको छनोट प्रक्रियाको औचित्यतामाथि नै प्रश्न उठेको तर्क गरेका छन् । उनले भने, ‘एक नम्बरमा सिफारिस भएको नाताले र नम्बर पनि धेरै फरक भएकाले चलखेल नहोला भन्ने लागेको थियो । त्यो हुन सकेन् । यद्यपि जोशीजी ठिकै मान्छे छन् । राम्रै गर्लान ।’
रेग्मीले लेखेका छन्, ‘लोकसेवा आयोगको रोहबरमा ६ जना पूर्वसचिवज्यूहरूलाई विज्ञको रूपमा राखी तीन जनाको नाम सिफारिस गर्नुको तुक के रह्यो ? जब बोर्डको कार्यकारी समितिले मन्त्रीको दबाबमा सर्वोत्तमलाई पाखा लगाउँदै करिब १० अंक कम ल्याउनेलाई कार्यकारी पदमा नियुक्त गर्नुपर्ने थियो भने ।’
कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नम्बरमा ठूलो अन्तरले आफू अगाडि भएकोले र प्रक्रिया निष्पक्ष हुने आशा लिए पनि मन्त्री पाण्डेले त्यो निष्पक्षता देखाउन नसकेको बताए । अंक तालिकाअनुसार आफू नै नियुक्ति हुने विश्वासमा पर्यटनमन्त्रीलाई नभेटेको रेग्मीले स्वीकार गरे ।
सिफारिस समितिले बिहीबार डा. रेग्मी, जोशी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो । सिफारिसलगत्तै पर्यटन सचिव अध्यक्ष रहेको बोर्डको सञ्चालक समितिले जोशीलाई चार बर्षका लागि सीईओ नियुक्त गरेको थियो । जोशी र रेग्मी दुवै बोर्डका पूर्वसीईओ हुन् । अंकतालिकामा शुन्य दशमलव पाँच अंकले महतो तेस्रो नम्बरमा रहेको जनाइएको छ ।