दार्चुला । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अनुगमन गरेका छन् ।
राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको शुक्रबार अनुगमन गरेका हुन् ।
नेपाल–भारत जोड्ने उक्त पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उनले निर्माण कार्य समयमै सक्न निर्देशन दिए । आगामी कात्तिक महिनाभित्र पुल निर्माण सम्पन्न गर्न राजदूत श्रीवास्तवले निर्माणमा संलग्न पक्षलाई आग्रह गर्नुभयो ।
सो अवसरमा राजदूत श्रीवास्तवले प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, महाकाली करीडोर सडक योजनाका ईन्जिनियर दिपकबहादुर विष्टलगायतबाट पुल निर्माणबारे जानकारी लिएका थिए । भारतको पिथौरागढ जिल्लाका उप जिल्ला अधिकारी मन्जित सिंह तथा त्यहाँस्थित सुरक्षाअधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
पुल निर्माणको काम भारतीय निर्माण कम्पनी ‘पि एण्ड आर ईन्फ्राप्रोजेक्ट लिमिटेड पन्जा’ले गरिरहेको छ । एक सय १० मिटर लामो उक्त पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भेगलाई भारतसँग जोड्न दार्चुलामा बन्न लागेको यो पहिलो मोटरेवल पुल हो ।