काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
समीक्षा अवधिमा बैंकले ६० करोड २१ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो । गत आवमा बैंकले १४ करोड २३ लाख रुपियाँ मात्रै खुद नाफा कमाएको थियो।
पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशतले घटेर २ अर्ब २० करोड ८२ लाख रुपियाँ र खुद फी तथा कमिशन आम्दानी ७.०३ प्रतिशत घटेर२९ करोड ५३ लाख रुपियाँ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.०८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६४.६१ प्रतिशतले बढेर ६९ करोड रुपियाँ कायम भएको छ । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, समीक्षा अवधिमा घटेर ६८ करोड ८४ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढेको हो ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २५.८० रुपियाँ रहेको छ ।
साथै, समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.५१ रुपैयाँले बढेर १६.३९ रुपैयाँ पुगेको छ ।त्यस्तै, प्रतिशेयर नेटवर्थ २६४.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.९८ गुणा रहेको छ ।
यस अवधिमा १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ४.५३ प्रतिशतले वृद्धि भई २४ अर्ब २० करोड २९ लाख रुपियाँ पुगेको छ भने निक्षेप १.१२ प्रतिशत र कर्जा तथा सापटी २.७९ प्रतिशत बढेको छ।