काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा बाणिज्य बैंकहरुको खुद आम्दानीमा मै गिरावट आएको छ । बैंकहरुको मुख्य आम्दानी स्रोत नै खुद व्याज आम्दानी हो । तर, पहिलो त्रैमासमा २० बाणिज्य बैंकको खुद व्याज आम्दानी छ प्रतिशतले घटेको छ ।
बाणिज्य बैंकहरुले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको पहिलो त्रैमासमा २० बाणिज्य बैंकको खुद व्याज आम्दानी ४९ अर्ब ५६ करोड ७८ लाख रुपियाँ थियो ।
चालु आवको पहिलो त्रैमासमा त्यस्तो आम्दानी ४६ अर्ब ५४ करोड ९० लाख ३० हजार रुपियाँमा सीमित भएको छ ।
बैंकहरुले प्रवाह गरेको ऋणको व्याज बापत हुने आम्दानी र निक्षेपकर्तालाई व्याज बापत दिने रकमबीचको अन्तर नै खुद व्याज आम्दानी हो, जुन बैंकहरुको मुख्य आम्दानी हो ।
सैद्धान्तिक रुपमा बैंकहरुको मुख्य काम निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्ने हो । निक्षेपमा दिइने भन्दा बढी व्याजमा कर्जा प्रवाह गरिन्छ । त्यसमा हुने नाफा बैंकहरुको मुख्य आम्दानीको स्रोत हो । तर, पहिलो त्रैमासमा सोही आम्दानीमा गिरावट आएको हो ।
यो बाहेक बैंकहरुले शेयर बजार लगायतमा ठाउँमा लगानी गरेर पनि आम्दानी गर्न सक्छन् । यसैगरि बिभिन्न सहायक कम्पनी स्थापना गरेर पनि काम गर्न सक्छन् ।
बढ्दो रेमिट्यान्स, उच्च सरकारी खर्च लगायतका कारण अहिले बैंकहरुमा निक्षेप बढ्दो मात्रामा छ । त्यसबापत दिनुपर्ने व्याजको दायित्व पनि बैंकहरुमा थपिदैं गएको छ । निक्षेपकर्ताले दिइने व्याज बैंकहरुले ऋण प्रवाह गरेर कमाउने हो । पछिल्लो समय कायम आर्थिक शिथिलताले बजारबाट कर्जाको माग बढ््न सकेको छैन ।
बिगत डेढ बर्षदेखि बैंकहरुमा कर्जाको माग न्यून छ । फलस्वरुप खर्बौ रुपियाँ लगानीयोग्य रकम बैंकहरुमा थुप्रिएको छ । यसरी कर्जा प्रवाह नै गर्न नपाएपछि बैंकहरुको आम्दानीको स्रोत खुम्चिएको छ । फलस्वरुप समीक्षा अवधीमा व्याज आम्दानी पनि प्रभावित भएको बैंकहरुको भनाइ छ । यस्तै, आर्थिक शिथिलताका कारण कतिपय ऋणीले व्याज तिर्न पनि सकेका छैनन्, त्यसको असर पनि व्याज आम्दानीमा परेको छ ।
समीक्षा अवधीमा १४ बाणिज्य बैंकको खुद व्याज आम्दानी घटेको देखिन्छ । त्यसमा नेपाल बैंकको ०.४२ प्रतिशत, नविलको ०.८० प्रतिशत, नेपाल एसबीआईको २.४३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.८३ प्रतिशत, एनआईसी एसिया बैंकको ७.०६ प्रतिशत, कुमारी बैंकको ७।७४ प्रतिशत, एनएमबी बैंक १०.४२ प्रतिशत र सानिमा बैंकको १३.२६ प्रतिशतले खुद व्याज आम्दानी घटेको छ ।
यसैगरि राष्ट्रिय वाणिज्य बैंकको १३.९९ प्रतिशत, ग्लोबल आईएमई बैंकको १४।२१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १५.७४ प्रतिशत, हिमालयन बैंकको २२.८७ प्रतिशत र कृषि विकास बैंकको २५.१८ प्रतिशतले खुद व्याज आम्दानी घटेको छ ।
तर, छ बाणिज्य बैंकको खुद व्याज आम्दानी भने बढेको छ । त्यसमा प्राइम कमर्सियल बैंकको १६.६७ प्रतिशत, एभरेष्ट बैंकको १३.०८ प्रतिशत, सिद्धार्थ बैंकको ६.०१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.९८ प्रतिशत, सिटिजन्स बैंकको ३.५६ प्रतिशत र प्रभु बैंकको ३.१६ प्रतिशतले खुद व्याज आम्दानी बढेको छ ।
खुद व्याज आम्दानी घटेपनि समीक्षा अवधीमा बाणिज्य बैंकहरुको खुद नाफा भने बढेको छ । समिक्षा अवधीमा उनीहरुको नाफा २०.१७ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा २० बाणिज्य बैंकको खुद नाफा १३ अर्ब ४७ करोड २० लाख रुपियाँ थियो । चालु आवको पहिलो त्रैमासमा भने १६ अर्ब १८ करोड ९४ लाख रुपियाँ नाफा कमाएका छन् । बिशेषगरि असल कर्जामा राख्नुपर्ने १.२० प्रतिशत प्रोभिजनिङलाई १.१ प्रतिशतमा सीमित गरेपछि बैंकहरुको नाफा बढ्न सहयोग पुगेको छ । यस्तै, निक्षेपको व्याजदर घटाउँदा खर्च पनि कम भएको छ । त्यसले पनि नाफा बढाउन सहयोग पुगेको देखिन्छ ।