चुच्चे नक्सासहित रु.१०० को बैंकनोट छाप्दै राष्ट्र बैंक, चाइना प्रिन्टिङ कर्पोरेशनले पायो ठेक्का

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको रु.१०० को नयाँ बैंकनोट छपाई गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार नोट छपाई तथा ढुवानी सम्बन्धी टेन्डरको आशयपत्र जारी गर्दै रु.१०० दरका तीन सय मिलियन अर्थात् ३० करोड थान बैंकनोट छपाई गरिने जानकारी दिएको हो । 

नोट छपाईको ठेक्का चाइना बैंकनोट प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशन, चाइनाले पाएको छ । नोट छपाई, ढुवानी तथा व्यवस्थापनका लागि भएको अन्तर्राष्ट्रिय बोलकबोलमा चिनियाँ कम्पनी छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ । कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्नेछ । 

Advertisement

नयाँ नोटमा चुच्चे नक्सा समाहित हुने

यसअघि विवादकैबीच रु.१०० को नेपाली बैंक नोट नछापिएको भन्ने आशंकाकाबीच अन्ततः केन्द्रीय बैंकले चुच्चे नक्सासहितकै नेपालको नक्सा अंकित बैंक नोट छाप्ने भएको छ । ‘मन्त्रिपरिषद्को निर्णय बमोजिम नै चुच्चे नक्साहित बैंक नोट छापिन्छ । केन्द्रीय बैंकले सरकारको नीति नियम, निर्देशन मान्ने हो । यसमा संका नै छैन’ राष्ट्र बैंकका सहप्रवक्ता डिल्लिराम पोखरेलले कर्पोरेट नेपालसँग भने ।

सरकारले नेपाल–भारतको विवादित पश्चिमी सीमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा (चुच्चे नक्सा) सार्वजनिक गरेसँगै भारत रुष्ट बन्दैआएको छ । थप नोटमा अंकित नक्सामा समेत चुच्चे नक्सा समावेश गरिँदा भारत थप रुष्ट बन्ने र दुई देशबीचको सद्भाव विग्रिन सक्ने भन्दै विभिन्न कोणबाट बहस चलिरहेको थियो । यसैकारण दशैंअघि केन्द्रीय बैंकले नयाँ नोट नछापेको भन्ने तर्कहरु पनि गरिएको थियो । तर, दशैं लगत्तै केन्द्रीय बैंकले नेपालको नक्सा समावेश भएको सयको नोट चुच्चे नक्सासहित छाप्ने तयारी गरेको हो । 

गत वैशाख, २०८१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले चुच्चे नक्सासहित नयाँ बैंकनोट जारी गर्ने निर्णय गरेको थियो । 

undefined

Advertisement

Advertisement