काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले लामो समयदेखि चल्दै आएको डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवाद समाधानका लागि मध्यस्तता गर्न महासंघ तयार रहेको बताएका छन् ।
पीडित तथा प्रताडित उद्योगी समूहले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले सरकारले भनेमा आफूहरु मध्यतस्तता गर्न तयार रहेको बताएका हुन् । महासंघकै पहलमा अधिकारसम्पन्न आयोग बनेको स्मरण गर्दै श्रेष्ठले भने, ‘आज भोलि नै यो विवाद टुंग्याउनुपर्छ भन्ने महासंघको माग छ । विवाद समाधानका लागि विद्युत प्राधिकरण पनि संयमित हुनुपर्यो । संवेदनशील पनि हुनुपर्यो । र समस्या समाधान गर्न उद्यमी र प्राधिकरणबीच कुनै किसिमको मध्यस्थता गर्न र यो समस्या सदाको लागि समाधान गर्न महासंघ तयार छ ।
उनले समस्य समाधानका लागि सहजीकरण गर्न सरकारलाई पनि आग्रह गरे । राज्यका निकायहरुको कारण यो देशमा भविश्य छैन, अरु देशमा नै भविश्य खोज्नुपर्छ भन्ने भास्य बनेको श्रेष्ठले बताए ।
औद्योगिक क्षेत्र धरासायी बन्दै गएको, अर्थतन्त्र झनझन धसिँदै गएको, देशको अवस्था झनझन चुनौतिपूर्ण बन्दै गएको भन्दै उनले डेडिकेटेड तथा ट्रंकलाइनको महशुल विवादमा राज्यको सबै निकाय संलग्न हुँदा पनि झण्डै एक दशकसम्म समाधान नहुनु चिन्ताको विषय हो भने ।
श्रेष्ठले भने, ‘संसदीय समितिहरु संलग्न भए । मन्त्रिपरिषद भयो । विद्युत प्राधिकरणले विभिन्न समयमा आफ्नै समितिहरु बनायो । उर्जा मन्त्रालयले समिति बनायो । अदालतदेखि नियामक निकाय पनि संलग्न भयो । उद्योग बाणिज्य महासंघकै सुझावमा उच्चस्तरीय न्यायिक आयोग पनि बन्यो । आयोगले सुझाव पनि दियो । सोअनुसार मन्त्रिपरिषदबाट कार्यान्वयनका लागि पनि आयो । तर अझै कार्यान्वयन हुँदैन । अझै समस्या समाधान हुँदैन् । सबैभन्दा दुःखको कुरा नि, सबैभरि यो मुलुकमा यसरी नै समस्या बल्झिरहने हो ?’
बर्षौंसम्म समस्यालाई बल्झाएर राखेर यो मुलुकमा भविश्य कसरी देखिन्छ ? भन्दै उनले युवा पलायनको कारण नै यस्तै बेथिति हो भने । सम्वन्धित निकाय र व्यक्तिहरु पारदर्शी र जिम्मेवार नहुँदा यो समस्या कायम रहेको श्रेष्ठले बताए ।
अन्जन श्रेष्ठले भने, ‘यसरी लगानीको वातावरण कसरी बन्छ ? एउटा विदेशीले सुन्यो भने के भन्ला ?’ अनिर्णयको बन्दी बनाउने काम राज्यले गर्न नहुने उनले बताए । श्रेष्ठले उद्यमी व्यवसायीप्रति हेर्ने दृष्टिकोण परिवर्तन नै हुन नसकेको बताए । ‘उद्यमी व्यवसायीलाई लान्छना लगाइराख्ने ? यो डेडिकेटेड तथा ट्रंकलाइनको कुराले त झन धेरै लान्छना लगाउने परिस्थिति बनेको छ । यस्तो बेलामा लगानीकर्ताले कसरी लगानी गर्ने आँछ गर्छ । साहस गर्छ ?’ उनले प्रश्न गरे ।