दशैं बेलायतमा, तिहार नेपालमै

Advertisement

काठमाडौं । झिलिमिली र उत्साहको पर्व तिहारको रौनक छ अहिले । बडादशैं सकिएलगत्तै १५ दिनभित्र नै नेपाली हिन्दू धर्मालम्बीहरुको घरआँगनमा उत्साह लिएर आएको तिहारले मानव जगतमा मात्र नभई प्राणीहरुको सम्मानमा समेत विशेष अर्थ राख्ने गर्छ । 

गाई, गोरु, कुकुर, काग जसले मानव जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग गर्छन्, यी प्राणीहरुको समेत तिहारमा प्रेमका साथ पूजा गर्ने गरिन्छ । अझ विशेषतः तिहारको लक्ष्मी पूजा, म्ह (आफ्नै) पूजा र भाइ पूजाको निकै ठूलो महत्व छ । विशेषगरी भाइ पूजाको पर्व तिहारले दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धलाई थप मजबुद र आत्मीय राखिराख्न महत्वपूर्ण भूमिका खेल्ने होटल संघ नेपाल (हान)की निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी सिर्जना राणा बताउँछिन् । 

Advertisement

‘तिहार भन्ने बित्तिकै भाइको पूजा गर्ने पर्व भन्ने दिमागमा आइहाल्छ । यो एउटा दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्ध नवीकरण गर्ने र सुमधुर राख्ने महत्वपूर्ण अवसर पनि हो’ उनी भन्छिन । तिहारले दिदीबहिनी र भाइहरुबीचको सम्बन्ध थप स्थापित हुने राणाको भनाई छ । 

थप उनी भन्छिन्, ‘सानामा दाजुभाइ दिदीबहिनीहरु सँगै खाइखेली हुर्किएका हुन्छौं । ठूलो भएपछि विवाह हुन्छ र दाजुभाइ र दिदीबहिनीहरु छुट्टिन्छन् । को कता, को कता, आ–आफ्नै घरपरिवार, व्यापार व्यवसाय र धन्दामा व्यस्त भइन्छ । हो, यसरी छुट्टिएर रहेका दाजुभाइ, दिदीबहिनी र दाजुभाइलाई पुनः एक ठाउँमा ल्याउने काम तिहार जस्तो महत्वपूर्ण पर्वले गर्छ ।’ 

वर्षभरी भएका दुःख, संघर्षका घटनालाई भुलेर एकदिन भएपनि दाजुभाइ र दिदीबहिनी बीच प्रेम, आत्मियता साटासाट गर्ने अवसर तिहारमा मिल्ने राणा बताउँछिन् । उनका अनुसार यो अवसरले अझ अरु वर्षहरु यसरी नै सम्बन्धहरु कायम राखिराख्न सहयोग पुग्छ ।

तिहारको योजना
यसपाटकको तिहारमा पूरै समय घरपरिवार र भाइहरुलाई दिँदैछु । विशेष काम परे मात्र नत्र प्रायः तिहार काठमाडौंमा नै मनाउने गरेको छु । दशैंमा भने घुमफिर भयो । फुर्सदको समय यसपाली दशैंमा बेलायत गएको थिए । तर तिहारमा कहिँ गएको छैन् । तिहार पूजापाठमा नै बित्ने हुँदा पनि त्यति समय हुन्न । 

मेरो आफ्नै एउटा भाइ छ । मामाका दुईवटा छोराहरु र काकाको एउटा छोरालाई पनि मैले भाइटीका लगानेगरेको छु । यसपाटक पनि यी चार भाइलाई मैले टीका लगाउँछु । मखमलीको माला जस्तै कहिल्यै नओइलाओस् भनेर दीर्घायुको कामना गर्दै भाइहरुको पूजा गर्छु ।

भाइहरुको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै यमराजको कहिल्यै नजर नपरोस् भनेर पुजा गर्छु । साथै उनीहरुको व्यवसायिक सफलताको कामना समेत गर्छु । अरु दिन पूजा पाठमा रहेपनि भाइ टीकाको दिन पूरै दाजुभाइलाई समय दिन्छु । रमाइलो गर्छु । 

धार्मिक एवं सांस्कृतिक महत्व
तिहारले धार्मिक आस्थालाई मात्र नबोकर यसको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्व पनि छ । हामी तिहारमा गाई, गोरु, कुकुर, कागको पूजा गर्छौ । यसले हामीलाई प्राणीप्रति सम्मान र प्रेम गर्न सिकाएको छ । आफूलाई वर्षौसम्म सेवा, सहयोग र सुरक्षा प्रदान गर्ने प्रणालीहरुको पूजा गर्नुले आफैमा विशेष अर्थ राख्छ । 

अर्कोतर्फ तिहारले धनको महत्वलाई पनि बुझाएको छ जस्तो मलाई लाग्छ । धनकी देवी लक्ष्मीको पूजा अर्चना गर्छौ र हामी धनवृद्धिको कामना गर्छौं । यसले आर्थिक लाभको प्रेरणा जगाउँछ र फेरि अर्कोतर्फ धन मात्र केही होइन भन्ने कुरा पनि हामीलाई यही चाडपर्वले नै सिकाइरहेको हुन्छ । सधैंभरी काम काम भन्दै व्यस्त रहने जीवनलाई यही चाडपर्वले फुर्सद लिन र समाजमा घुलमिल हुन सिकाउँछ । 

मलाई त लाग्छ, यही चाड पर्वहरुले नै हामीलाई आफ्नो घरपरिवार, आफन्त, नाता सम्बन्ध र समाजमा घुलमिल हुन सिकाएको हो । पहिले पहिले रमझम रमाइलो लागेर चाडपर्व मनाइन्थ्यो तर अहिले यसको अर्थ र महत्व बुझेर मनाउने गरेको छु । 

undefined

Advertisement

Advertisement