काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा सरकारले बिभिन्न पाँच शीर्षकमा १५ करोड ७४ लाख ६७ हजार रुपियाँ बराबरको थप बजेट निकासा गरेको छ । यसअघि नै बिनियोजन गरेको बजेटले नपुगेपछि अर्थ मन्त्रालयले थप बजेट निकासा गरिदिएको हो ।
अर्थ मन्त्रालय अन्तरगको महालेखा नियन्त्रणक कार्यालयलाई १४ करोड तीन लाख १६ हजार रुपियाँ थप बजेट दिइएको छ । गत आवमा खर्च नभई संघीय राजश्वमा जम्मा भएको स्वीस एसडीसी अनुदानबापतको उक्त रकम महालेखालाई नै दिइएको हो ।
यस्तै, चीन सरकारले उपलब्ध गराएको सवारी साधानको पैठारीमा लाग्ने भन्सार महशुल तथा कर दस्तुर भुक्तानी गर्न प्रयोजनका लागि परराष्ट्र मन्त्रालयलाई एक करोड ५६ लाख ६२ हजार रुपियाँ थप बजेट दिइएको छ ।
यसैगरी राजश्व फिर्ता प्रयोजनका लागि राहदानी बिभागलाई नौ लाख ४७ हजार, सहरी विकास मन्त्रालय अन्तरगतका संघीय सहरी विकास आयोजना कार्यान्वयन कार्यालयहरुलाइ चार लाख ७६ हजार र बागमती सुधार आयोजनालाई ६५ हजार थप गरिएको छ ।
यस्तै, पहिलो त्रैमासमा अर्थ मन्त्रालयले दुई अर्ब ३६ करोड रुपियाँ बजेट रकमान्तर गरेको छ । कृषि तथा पुशपंक्षी विकास मन्त्रालय अन्तरगतको उक्त बजेट रकमान्तर गरिएको छ । बिशेष कृषि उत्पादन कार्यक्रमको पैसा रकमान्तरण गरेर लगानी विविधमा पठाइएको हो ।
स्रोतकाअनुसार उखु र दुग्ध किसानको बक्यौता भुक्तानी गर्न उक्त बजेट रकमान्तर गरिएको हो । त्योअनुसार सरकारले बजेट बनाउँदा किसानको समेत बक्यौता तिर्न बजेट नछुट्टाएको देखिन्छ ।
उखु किसानका लागि एक अर्ब ४५ करोड ३२ लख र दुग्ध किसानका लागि ६० करोड रुपियाँ निकासा भएको छ ।
दुग्धका किसानको बक्यौता तिर्न सरकारले दुग्ध विकास संस्थानलाई ऋण दिएको बताइएको छ । सरकारले बजेट दिएपछि किसानहरुले यही बराबरको बक्यौता पाइसकेका छन् । समीक्षा अवधिमा यस बाहेकका शीर्षकमा बजेट रकमान्तर भएको छैन ।