​भियतनाम सहितको बुद्धिष्ट सर्किट बनाउन सकिने

Advertisement

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कम्बोडिया, लाओस, चिन, जापान, भियतनाम, म्यानमार, थाईल्याण्ड, श्रीलंका, भारत र नेपालसहितको बुद्धिष्ट सर्किट बनाउन सकिने बताएका छन् । 

नेपालका लागि भियतनामी राजदूतावाससँग ‘डुइङ विजनेश’ अन्तरक्रियामा शुक्रबार श्रेष्ठले यस्तो सर्किट बनाउन सके पश्चिमी मुलुकबा धेरै पयर्टक भित्र्याउन सकिने भएकाले यसका लागि संयुक्त पहल गर्नुपर्ने बताए । 

नेपालमा नयाँ संविधान निर्माण हुन लागेको, भारतसँग विद्युत व्यापार सम्झौता भएको, भारतीय कम्पनीसँग विद्युत उत्पादन सम्झौता भई लगानीको वातावरण बन्दै गएकोले नेपालमा पर्यटन, पुर्वाधार, उर्जा, कृषि, खानी तथा खनिजजन्य उद्योग,  शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गरीे भियतनामी व्यवसायीले फाईदा लिनसक्ने उनले बताए । 

अध्यक्ष श्रेष्ठले नेपालका निजी क्षेत्र भियतनामका उद्यमी व्यवसायीसँग संयुक्तरुपमा काम गर्न इच्छुक रहेको बताए । अध्यक्ष श्रेष्ठले दुई देश वीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिनिधिमण्डलको आदान प्रदान, मेला, गोष्ठी तथा प्रदर्शनीको नियमित आयोजना गर्नुपर्ने खाँचो औंल्याए । 

भियतनामी जनताको जीवनस्तरमा भएको सुधारले नेपालका विश्व ख्याती प्राप्त कार्पेट, पश्मिना तथा हस्तकलाका वस्तुको माग उच्च हुनसक्ने भन्दै उनले नेपालका निर्यातयोग्य वस्तुको प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरे । 

भियतनामी राजदूत टम सिन्ह थान्हले नेपाल र भियतनाम बीचको आर्थिक, सामाजिक, सांस्कृतिक तथा निजी क्षेत्रको विकासमा आफू अधिकतम प्रयासरत रहने बताए । नेपाल– भियतनाम कुटनैतिक सम्वन्ध स्थापनाको ४०औं वार्षिकोत्सवका अवसरमा आर्थिक क्रियाकलाप अभिवृद्धि हुने विशेष कार्यक्रम आयोजना गर्नुपर्ने उनको भनाई छ । 

थान्हले नेपालमा छिटै संविधान निर्माण हुने र राजनीति स्थायित्व भई लगानीको बाताबरण बन्ने भन्दै नेपालले भियतनामबाट कृषि तथा कृषिजन्य उद्योग, इलेक्ट्रोनिक सामान, फर्निचर तथा तयारी पोशाकमा भियतनामको पुँजी र प्रविधिबाट लाभान्वित हुनसक्ने बताए । 

परराष्ट्र मन्त्रालयका उपसचिव झविन्द्र अर्यालले नेपाल तथा भियतनाममा राजदूतावास स्थापना गर्न अत्यन्त आवश्यक रहेको भन्दै दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा दुवै देशको निजी क्षेत्र थप सक्रिय हुनुपर्ने बताए । 

Advertisement

Advertisement

Advertisement