औद्योगिक प्रविधिको विकास गर्न राष्ट्रिय आविष्कार केन्द्र र उद्योग मन्त्रालयबीच सहकार्य

Advertisement

काठमाडौंः म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने भएको छ । विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्न मन्त्रालयले सहकार्य गर्न लागेको हो ।

यसैगरी, तराईमा नेपाली वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परिक्षण गरी त्यसको व्यवसायिक उत्पादन सम्भव छ ? छैन ? यकिन गर्ने काममा समेत मन्त्रालय र केन्द्रले मिलेर काम गर्ने जनाइएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने भएको छ । यसका साथै नेपाली किसानहरुलाई सरल र सहुलियत मुल्यमा धान काट्ने मेशिन उपलब्ध गराउन यस्तो मेशिनको आविष्कारको लागि समेत राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पुर्याउने छ ।

राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तारलाई ध्यानमा राखी उद्योग मन्त्रालयले एक करोड ५० लाख रुपियाँ अनुदान सहयोग उपलब्ध गराउन बजेटमा व्यवस्था गरेको छ । केन्द्रले नेपालमा अनुसन्धान र विकासको संस्कृति विकास गरी समाजको तल्लोदेखि माथिल्लो तहसम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने मन्त्रालयको विश्वास छ ।

यसबाहेक मन्त्रालयले नेपाल आँखा केन्द्रले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगको क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग उपलब्ध गराउने, सरकार, निजी क्षेत्र, गैरआवासीय नेपाली र सर्वसाधारणको संयुक्त लगानीमा औद्योगिक विकास कोष स्थापना गरिने र कोषबाट यातायात, उर्जा, औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण, क्षमता विकास, उद्यमशीलताको विकास, प्रविधि हस्तान्तरणमा लगानी गर्ने, नेपाल औषधि लिमिटेडबाट उत्पादित जीवनजल सहुलियत मूल्यमा उपभोक्तालाई उपलब्ध गराउन विशेष व्यवस्था गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement